धरानः धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले छात्राहरुलाई आत्मरक्षा तालिम दिएको छ ।
शुक्रबार विद्यालयका कक्षा–८ देखि १२ सम्मका छात्राहरुलाई यस्तो तालिम दिएको हो । तालिममा करिब २ सय ५० विद्यार्थी सहभागी थिए । स्कुलका प्रिन्सिपल निलमकुमार श्रेष्ठले विद्यार्थीलाई अहिलेको समयमा किताबी ज्ञानबाहेक आफ्नो सुरक्षा कसरी गर्ने, त्यसको बेसिक टेक्निक के के हो, आपतकालीन अवस्थामा आफ्नो सुरक्षाको लागि के कस्तो उपायहरु अवलम्वन गर्न सकिन्छ जानकारी प्रदान गर्नका लागि यस्तो तालिम दिइएको बताए ।
‘विद्यार्थीलाई पठनपाठनको अलवा शैक्षिक पात्रोमै उल्लेख गरेर विभिन्न विधाहरुमा तालिम, अभिमुखीकरण साथै प्रवलीकरण जस्ता अतिरिक्त क्रियाकलापका विविध क्रियाकलापमा जोड दिँदै आएका छौं’, उनले थपे, ‘यही अन्तर्गत विशेषतः यसपटक आत्मरक्षा तालिम पनि महत्वपूर्ण ठान्यौं र यो तालिम दिइएको हो ।’
यसले आत्मरक्षा कला मात्रै सिक्ने नभएर छात्राहरुको आत्मविश्वास पनि अभिवृद्धि हुने ठानेर यस्तो कार्यक्रमलाई जोड दिइएको उनको भनाइ छ । ‘आत्मविश्वास वृद्धि भएसँगै उनीहरु खुलेर आफ्नो प्रतिभा प्रष्फुटन गर्न सक्छन् र समाजमा सुरक्षित महसुस गर्नेछन् भन्ने विश्वास लिइएको छ’, उनी भन्छन् ।
कक्षा–१२ की छात्रा लक्ष्मी राईले तालिम फलदायी भएको बताउँदै जीवनलाई बचाउने खालको तालिमले आत्मविश्वास बढेको बताइन् । स्वास्थ्य राम्रो भयो भने पठनपाठनमा पनि सहयोग पुग्ने र यस्ता खालका तालिमले सोंच्ने शक्ति पनि बढाउने कक्षा–१० की छात्रा श्रेया झाले बताइन् । छात्रा निर्जला साम्पाङले यस्तो तालिमले आफूले ‘रिफ्रेस’ महसुस गरेको बताइन् । विद्यार्थीका लागि यस्तो खाले तालिम निकै महत्वपूर्ण रहेको र आफूले कसरतका रुपमा पनि लिइएको उनको भनाइ छ ।
तालिममा सहजीकरण गरेकी प्रशिक्षक सुबीक्षा राईले आत्मरक्षा तालिम सिकेका छात्राले कुनैपनि समयमा सुरक्षित महसुस गर्ने बताइन् । ‘विशेषतः छात्राहरुले कतिपय आपराधिक घटनाको सामना गर्नुपरिरहेको छ’, उनले भनिन्, ‘यस्ता घटनाबाट बच्न पनि आत्मरक्षा जरुरी छ, त्यसका लागि यस्ता तालिमले धेरै सहयोग गर्छ र यो निकै महत्वपूर्ण पनि छ ।’
कार्यक्रममा विद्यालयका तेक्वान्दो र कराँते प्रशिक्षकहरू सन्तोष राई र शुलभ श्रेष्ठले पनि प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा प्रिन्सिपल निलमकुमार श्रेष्ठ, सहायक प्रिन्सिपल कृष्णप्रसाद पौडेलले प्रश्क्षिकहरुलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन माध्यमिक तहका कोअर्डिनेटर शम्भु रेग्मीले गरेका थिए ।
स्कुलले थप शैक्षिक गुणस्तरका लागि अतिरिक्त क्रियाकलापमा समेत जोड दिँदै गएको छ । स्कुलमा नानीहरूलाई किताबी ज्ञान मात्रै नभएर विषय शिक्षक नै राखेर अतिरिक्त क्रियाकलापको कक्षा नै सञ्चालन भइरहेको प्रिन्सिपल श्रेष्ठले जानकारी दिए । प्रत्येक शुक्रबार र शनिबार अतिरिक्त क्रियाकलाप गराउने गरिएको उनले जानकारी दिए । उनका अनुसार फुटबल, क्रिकेट, बास्केटबल, टेबलटेनिस, कराँते, नृत्य, गायन, चित्रकलालगायतका विधाको कक्षा नै सञ्चालन गरिँदै आएको जानकारी दिए । ‘प्रतिभा देखाउन चाहने विद्यार्थीका लागि हामीले पहिल्यै जानकारी दिँदै आएको छौं, त्यसमा जो जुन विधामा रुचि राख्छन्, सोही विधामा हामी निःशुल्क अतिरिक्त क्रियाकलाप गराइरहेका छौं ।’ उनका अनुसार शुक्रबार दिउँसो साढे ३ बजेदेखि साढे ५ बजेसम्म र शनिबार बिहान ७ बजेदेखि ९ बजे र बेलुका साढे ३ देखि साढे ५ बजेसम्म यस्ता क्रियाकलाप गर्दै आएको छ ।
‘शैक्षिक गुणस्तरका लागि अतिरिक्त क्रियाकलाप जरुरी छ भन्ने विद्यालयले पहिलादेखि नै बुझेको हो, त्यसैले पनि अहिले हाम्रा नानीहरुले पढाइमा जति अब्बल छन्, त्यति नै अतिरिक्त क्रियाकलापमा पनि खरो उत्रिँदै अब्बल सावित हुँदै गएका छन्, यो गर्वको कुरा हो ।’
तस्वीरहरुः शेखरनाथ जोगी


























































