धरानः धरान–१७ स्थित ऐन्फा टेक्निकल सेन्टर फुटबल खेल मैदानमा प्याब्सन ऐन्फा प्रेसिडेन्ट कप लिग फुटबल प्रतियोगिताको फाइनल चरणको अन्तिम खेलमा बहरा क्षेत्रका सिदार्थ बोर्डिङ स्कुलले हिमशिखर बोर्डिङ स्कुल तरहरालाई १–० गोलले हराउँदै उपाधि जितेको छ । सिद्धार्थले ट्रफीका साथै नगद २० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
फाइनल चरणमा ३ अंकका साथ महेन्द्र मेमोरियल बोर्डिङ स्कुल दुहबी प्रतियोगितामा दोस्रो भयो । प्रतियोगितामा इटहरीस्थित हिमशिखर बोर्डिङ स्कुल र धरानको होलिल्याण्डले पनि एक जितसहित ३ अंक प्राप्त गरेको थियो तर गोलअन्तरमा महेन्द्रले बाजी मारेपछि हिमशिखर तेस्रो स्थानमा चित्त बुझाएको थियो । होलिल्याण्ड चौथो भएको थियो भने दोस्रो भएको महेन्द्र मेमोरियलले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । तेस्रो भएको हिमशिखरले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारयो । त्यसैगरी चौथो भएको धरानको होलिल्याण्ड बोर्डिङ स्कुलले नगद ७ हजार, ट्रफी र प्रमाणपत्र पायो ।
एन्फा सुनसरीको आयोजना तथा प्याब्सन सुनसरीको संयोजनमा आयोजित प्रतियोगिता जिल्लाभरिका प्याब्सनमा आबद्ध ३२ वटा स्कुलहरुले भाग लिएका थिए । यसअघि पहिलो चरणका खेलहरु इटहरी र बहरा क्षेत्रमा नकआउटको आधारमा खेलाइएको थियो भने सोही ती २ क्षेत्रबाट २–२ वटा टिमलाई धरानमा फाइनल चरणको खेल लिगको आधारमा खेलाइएको जानकारी आयोजकले दिएको छ ।
बिजेता खेलाडीहरुलाई आयोजक एन्फा सुनसरीका अध्यक्ष नविन राई, प्रमुख अतिथि एवं प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई, प्याब्सन सुनसरीका अध्यक्ष अनुप योञ्जन, प्याब्सन सुनसरीका वरिष्ठ उपाध्यक्ष थानेश्वर ढकाल, प्याब्सनका सल्लाहकार डा.वेणुप्रसाद सिटौला, प्याब्सनका कोषाध्यक्ष दिपक कार्की, इन्दिरा कार्कीलगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा पूर्व खेलाडी धरान १८ निवासी गोविन्द राईलाई खेलकुदमा पुरयाएको योगदानको कदर गर्दै सम्मान समेत गरेको थियो ।
तस्वीरहरुः लक्ष्मण थापा





