धरानः धरानमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इटहरी–९ का ४५ वर्षीय आशबहादुर राई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
धरान–८ स्थित लाङ्घाली चौकमा मालबाहक ट्रक र स्कुटी एक आपसमा ठोक्किँदा गम्भीर घाइते भएका स्कुटी चालक आशबहादुरको मृत्यु भएको हो ।
बिहान ५ः ३० बजेको समयमा मालवाहक ट्रक र स्कुटर एक आपसमा ठोक्किँदा घाइते भएका दुई जना मध्ये १ जनाको मृत्यु भएको छ ।
स्कुटीमा सवार धनकुटाको साँगुरीगढी–९ का टेकबहादुर राई गम्भीर घाइते अवस्थामा बीपी प्रतिष्ठानमै उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको पनि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ‘उनको पनि अवस्था गम्भीर रहेको छ, बोल्न सक्ने अवस्थामा छैनन् ।’ जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका वरिष्ठ हवल्दार टेकबहादुर श्रेष्ठले भने ।
तीब्र गतिमा आएको स्कुटी र ट्रक एकआपसमा ठोक्किएर दुर्घटना हुन पुगेको स्थानीयबासीले बताएका छन् । इटहरीतर्फ आउँदै गरेको को१ख ४०६३ नम्बरको मालवाहक ट्रक र इटहरीबाट धरान जाँदै गरेको प्रदेश १–०२–०४५ प ३७४ नम्बरको स्कुटर एकआपसमा कोशी लोकमार्गमा ठोक्किएका थिए ।
ट्रक चालक धनकुटा चौबिसे–६ का चन्द्रप्रसाद राईलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।