Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान–इटहरी सडकमा कालोपत्रे गर्ने काम सुस्त, ढिलोगरी कालोपत्रेको काम शुरु, सेउतीको पुल अझै अलपत्र (१२ तस्वीर र भिडियोसहित)

हाम्रो कोशी आवाज
असोज २१ २०८०, आइतबार
धरान–इटहरी सडकमा कालोपत्रे गर्ने काम सुस्त, ढिलोगरी कालोपत्रेको काम शुरु, सेउतीको पुल अझै अलपत्र (१२ तस्वीर र भिडियोसहित)

इटहरी: धरान सडक खण्डमा पर्ने सेउती पुलदेखि इटहरीको तरहरास्थित पानीपियासम्मको सडकमा कालोपत्रको काम ढिलोगरी शुरु भएको छ ।
शनिबारदेखि सो सडक खण्डको कालोपत्रेको काम शुरु भएको ठेकेदार कम्पनीका सुपरभाइजर दिनेश दाहालले जानकारी दिए । धरानका मेयर हर्कराज राई साम्पाङ र यातायात व्यवसायी, उद्योगी–व्यवसायी, पर्यटन व्यवसायीलगायत सम्पूर्ण सरोकारवाला निकायको चौतर्फी दबावपश्चात् ठेकेदार कम्पनीले काम थालेको हो ।
ठेकेदार कम्पनी हिम धुङ थोकर एण्ड प्यासिफिक जेभीले आर्थिक वर्ष २०७९।०८० असार मसान्तबाट सडक निर्माणको काम अलपत्र छाडेर बेपत्ता बनेको थियो । लामो समयमा पनि सडक निर्माण सम्पन्न नगर्दा यातायात व्यवसायी, यात्रु, पर्यटन व्यवसायीलगायतले सास्ती पाएका थिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश समितिले दबावस्वरूप जिल्ला प्रशासन कार्यालय सुनसरीलाई ज्ञापन–पत्र समेत बुझाएको थियो ।
सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले ठेकेदार कम्पनीसहित सरोकार पक्षलाई असोज ११ गते छलफलमा बोलाएकी थिइन् । छलफलमा ठेकेदार कम्पनीका कोही प्रतिनिधि पुगेनन् । प्रतिनिधि नगएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न गर्न रानी–विराटनगर–इटहरी–धरान आयोजनालाई निर्देशन दिने निर्णय गरेको थियो ।
यसैबीच आइतबार धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ सडकको अवस्था बुझ्न पानीपियासम्म पुगेका थिए । उनले सडक गुणस्तरीय बनाउन निर्देशन समेत दिएका थिए । मेयर साम्पाङले पटक–पटक स्थानीय सरकारको तर्फबाट आग्रह गर्दा पनि सडक निर्माण नगर्नु ठेकेदार नै अटेरी रहेको बताए ।
व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गतको विराटनगरको रानी हुँदै इटहरी–धरान जोड्ने ४९ किलोमिटर ६ लेनको सडक विस्तार आयोजनाको काम सुस्त गतिमा हुँदा यात्रुलाई सास्ती हुँदै आएको थियो । सडकखण्डको पुरानो संरचना अहिले भत्काएर सडक चौडा बनाउने काम भइरहेको छ । तर सडकमा बनेका खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिमसमेत बढेको भन्दै यात्रुले गुनासो गर्दै आएका थिए । विशेषगरी साना सवारी साधन मोटरसाइकल, अटो तथा कारहरु खाल्डाखुल्डीका कारण दुर्घटनामा पर्ने गरेका थिए ।
सो सडक खण्डमा वर्ष दिनमा ५० भन्दा बढी दुर्घटना हुँदा ६ जनाको मृत्यु साथै ६ जना नै गम्भीर बनेको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । सडक निर्माणमा लापरवाही र ढिलाइ भएकै कारण दुर्घटना बढेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सडक सुस्त गतिमा निर्माण हुँदा धरानस्थित कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी लिएर जाने–आउने एम्बुलेन्सलाई समेत ढिलाइ हुने गरेको थियो । जसको असर बिरामीलाई नै पर्ने गरेको थियो ।
यसैबीच धरानस्थित सेउती खोलाको पुल निर्माण कार्य पनि रोकिएको छ । अहिले सो पुल अलपत्र अवस्थामै छ । नयाँ पुल निर्माण हुन नसकेको मेयर साम्पाङले बताए । ‘अहिले पनि अलपत्र अवस्थामै छ’, उनले भने, ‘तर मैले पटक–पटक दबाव दिइरहेको छु, अझै दबाव दिइरहन्छु ।’ ठेकेदारले पैसा नपाएको र काम रोकिएको उनको भनाइ थियो । ‘पैसा पाएको छैन भन्दै थिए ठेकेदारले, उनले भने, ‘त्योसँग सरोकार भएन जसरी पनि पुल बन्नुपर्छ भनेर भनिसकेको छु ।’

प्रकाशित मिति: असोज २१ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend