युद्धग्रस्त इजरायलमा बम आक्रमणमा परी मृत्यु भएका नेपालीका लागि सरकारले मंगलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को सोमबार बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। इजरायलमा भएको आक्रमणमा १० नेपाली विद्यार्थीको ज्यान गुमेको थियो।
मन्त्रिपरिषद्को आकस्मिक बैठकले बम आक्रमणमा ज्यान गुमाउनेलाई १० लाख रुपैयाँ दरले राहत दिने निर्णय पनि गरेको सूचना तथा सञ्चारमन्त्री शर्माले जानकारी दिइन्।
इजरायलमा फसेका नेपालीहरुलाई तत्काल उद्धार गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।
इजरायलमा मृत्यु भएका नेपालीहरूको शोकमा सरकारले मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोक घोषणा गरेको हो । मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोक घोषणा गरेको भएपनि बिदा भने दिएकाे छैन । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले शाेक मात्रै घाेषणा भएकाे जानकारी दिएकी छन् ।
मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ दिने
बैठकले इजरायलको आक्रमणमा परी मृत्यु भएका व्यक्तिको परिवारलाई १०/१० लाख राहत दिने निर्णय पनि गरेको छ भने द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउनका लागि तयारी गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
बैठकले परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी यस घटनामा निधन भएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउने, इजरायलस्थित नेपाली दूतावासले इजरायल सरकारसँगको समन्वय र सहयोगमा यस घटनामा परी बेपत्ता भएका नेपालीको खोजीमा तीब्रता दिने एवं घाइतेहरूको तत्काल उपचारका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।
त्यस्तै अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीहरूलाई नेपाल आउन चाहेमा नेपाल सरकारले नेपाल एयरलाइन्स र हिमालय एअरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र ल्याउन प्रबन्ध गर्ने निर्णय भएको उनले बताइन् ।
त्यस्तै बैठकपछि परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा नेपालीहरूलाई सुरक्षित स्थानमा ल्याउनका लागि पहलकमदी भइरहेको जानकारी दिए । इजरायलस्थित नेपाली दूतावासले इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपालीहरूको सुरक्षित उद्धार गर्न समन्वय र सहजीकरण गर्ने उनले बताए ।
मन्त्रिपरिषद्ले इजरायलमा रहेका नेपालीहरूको उद्धारको लागि आवश्यकताअनुसार इजरायल सरकार एवं छिमेकीलगायत अन्य मित्र राष्ट्रहरूसमेतको सहयोग लिने निर्णय गरेको छ भने यस घटनाका सम्बन्धमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात तथा समाजमा पर्ने असरसमेतलाई ध्यानमा राखी असान्दर्भिक र असंवेदनशील सामग्रीहरू सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न र आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्न सबैमा आह्वान गरेको छ ।