धरानः प्यालेस्टाइनको हमास समूहले इजरायलमा गरेको आक्रमणमा परेर ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्मानमा धरान–१६ स्थित धरान लिगामेन्ट स्कुलका विद्यार्थीले एक मिनेट मौनधारण गरेका छन् ।
हमासको आक्रमणमा परी नेपालीहरूले ज्यान गुमाएको दुःखद घटनापछि आफूहरुले पनि यस्तो कार्यक्रम आयोजना गरिएको र विद्यार्थीलाई थप जानकारी दिन खोजिएको प्रिन्सिपल तेजमान लिम्बूले बताए । ‘यस अकल्पनीय घटनामा दिवङ्गत भएका नेपालीहरूप्रति सम्मान व्यक्त गर्न यस्तो कार्यक्रम आयोजना गरेका हौं’, उनले भने ।
कार्यक्रममा प्रिन्सिपल लिम्बूले देश हेरेर मात्रै विदेश जान विद्यार्थीलाई सुझाए । ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्मान सरकारले आज (मंगलबार) देशभर राष्ट्रिय शोक घोषणा गरेको छ । सरकारले हमासको आक्रमणमा परी नेपालीहरूले ज्यान गुमाएको दुःखद घटनापछि मंगलबार राष्ट्रिय शोक घोषणा गरेको हो । सम्मानमा आधा झण्डा झुकाइने निर्णय समेत भएको थियो ।
गाजा क्षेत्रबाट हमासले शनिबार इजरायली क्षेत्रमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ । आक्रमणपछि एक नेपाली हराइरहेका छन् । दुई जना सकुशल छन् भने केही घाइते भएका छन् ।
त्यस्तै, केयरगिभरका रूपमा चार हजार ५०० नेपाली इजरायल गएका छन् । उनीहरूको अवस्था सामान्य रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।




