धरानः धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयका सक्रिय बाल क्लबले सरसफाइको सचेतनासम्बन्धी अभियान सञ्चालन गरेको छ ।
क्लबका १० जना सक्रिय सदस्यहरुले “क्लिन क्लासरुम, मेक अ डिफरेन्स” भन्ने नाराका साथ कक्षाकोठा, प्यासेज, विद्यालय परिसरलाई सरसफाइ राख्नुपर्नेलगायतका पोष्टर, प्लेकार्ड बोकेर कक्षा कक्षामा प्रवेश गरेर यस्तो सचेतना फैलाएका हुन् ।
शिक्षक सल्लाहकार हेमन्तमणि दाहालका अनुसार विद्यार्थीको उत्प्रेरणाका लागि प्रिन्सिपल निलमकुमार श्रेष्ठ पनि सँगै सहभागी थिए । प्रार्थनामा समयमा पनि सरसफाइको महत्वको बारेमा प्रष्टयाइएको उनले जानकारी दिए ।
डस्विनको सही प्रयोग, खाएका खानेकुरा जथाभावी नफाल्नेलगायतका विषयमा विशेष चासो र चेतना जगाइएको प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए । टिफिनअगाडिको चारवटा पिरियडमा यस्तो कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो ।
कार्यक्रममा विद्यार्थीले सरसफाइको बारेमा आफ्नो धारणा समेत राखेका थिए । ‘स्कुललाई अझै स्वच्छ, सफा बनाउने उद्देश्यका साथ यस्तो कार्यक्रम आयोजना गर्ने भनेर हामीले प्रिन्सिपललाई जानकारी दिएका थियौं’, बाल क्लबकी अध्यक्ष स्वेच्छा आचार्यले भनिन्, ‘प्रिन्सिपल सरले साह्रै राम्रो कार्यक्रम भनेपछि हामी उत्साहित बनेर सचेतना फैलाएका हौं । यसले स्कुल परिसर अझै सफा, स्वच्छ हुन्छ भन्ने विश्वास लिएका छौं ।’
अन्य विद्यार्थीले पनि उत्सुकताका साथ अन्यबेला सहभागी बन्ने र स्कुल सरसफाइमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरेको उनले जानकारी दिइन् । हरेक कक्षाको मनिटरहरुले त अभल यो ठीक कार्यक्रम हो भन्दै बढी चासो दिएका थिए ।



