Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धराने गायक गंगा बरदानको २५ वर्षअघिको गीत सार्वजनिक (भिडियोसहित)

हाम्रो कोशी आवाज
कार्तिक ३ २०८०, शुक्रबार
धराने गायक गंगा बरदानको २५ वर्षअघिको गीत सार्वजनिक (भिडियोसहित)

धरानः आजभन्दा ४५ बर्षअघि रेकर्ड भएको लोक गायक गंगा बरदानको लोकप्रिय गीत ‘कहाँमा काट्यो बेतको लौरी’ पुन नयाँ भर्सनमा रेकर्डिङ्गसंगै स्टुडियो भिडियो समेत निर्माण भई सार्वजनिक गरिएको छ ।
नेपाली बब मार्लीको रुपमा परिचित गायक बरदानले उक्त गीत वि.स. २०३५ सालमा स्वर परीक्षा उत्तीर्ण नगरिकनै सिंहदरबारस्थित रेडियो नेपालमा रेकर्ड भएको थियो । पछि उनले २०५५ साल ताका नमस्ते स्टुडियोका सञ्चालक तथा नमस्ते ब्याण्डका गायक ईश्वर गुरुङको सहयोगमा निकालिएको एल्वम ‘गंगा बरदान भाग १’ को लागि समेत पुन रेकर्ड गरेका थिए । त्यसबेला यो गीतले अझ लोकप्रियता कमाएको थियो । अहिले भने रेगी भर्सनमा गीत तयार गरिएको छ । जुपिहाङ लिम्बूको संगीत संयोजन रहेको गीत धरानको न्यू भावना स्टुडियोमा रेकर्ड भएको हो भने मिक्सिङ डम्बर लिम्बूले गरेका हुन् ।
गंगा बरदानका केही पुराना गीतहरुलाई पुनः नयाँ साज सज्जामा ल्याउने क्रममा सिल्भर इन्टरटेनमेन्टको सक्रियतामा यो गीत तथा भिडियो तयार भएको हो । उनका अन्य केही लोकप्रिय गीतहरु समेत रेकर्डिङ भइसकेको छ । सो भिडियो छायांकन तथा सम्पादन एडम लिम्बूले गरेका हुन् । सिल्भर इन्टरटेनमेन्टको युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।
२०२५ सालताका आफ्नो जन्मथलो भोजपुरमै आयोजित लोक तथा नृत्य प्रतियोगितामा दाई त काले भाई पनि काले काले काले मिलेर खाउँ भाले बोलको आफ्नै संकलन तथा स्वर रहेको गीत १६ वर्षको कलिलो उमेरमा नै गाएर दोस्रो स्थान प्राप्त गरेका गायक, रचनाकार तथा संगीतकार गंगा बरदानले नेपाली संगीत क्षेत्रमा आफ्नो ५० वर्षभन्दा बढी समय काटिसकेका छन् । आगामी मंसिरमा उनको सम्मानमा गंगा बरदान स्वर्णिम साँझ समेत आयोजना गरी गायक गंगा बरदानको जीवनयापनको सहयोगको लागि केही रकम समेत जुटाउने लक्ष्य राखिएको सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले बताए ।

प्रकाशित मिति: कार्तिक ३ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend