धरानः धरानमा टेम्पो पल्टिँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
धरान उपमहानगरपालिका–६ मालपोत चोकमा गएराति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीन घाइते भएका हुन् । धरान–६ मालपोत चौकस्थित धरान–केराबारी पक्की सडक खण्डमा रोकेर राखेको मिक्चरमा धरानतर्फ आउँदै गरेको को२ह ५५६५ नम्बरको टेम्पो आफै अनियन्त्रित भई ठक्कर लाग्न पुगेको थियो ।
मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका–५ का ३४ वर्षीय पदमबहादुर लिम्बू रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा सोही ठाउँका २३ वर्षीया जेनिशा मगर, ४५ वर्षीया अञ्जना मगर र २४ वर्षीया रविना मगर घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते चारैजनालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान लगिएकामा लिम्बूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । फरार भएका टेम्पोका चालकको प्रहरीले खोजी गरिरहेको छ ।
त्यसैगरी मोटसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका सुनसरीको इनरुवा–३ का ६० वर्षीय बालकुमार खतिवडाको बुधबार निधन भएको छ । बा२७प ८७०१ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको हो ।
खतिवडाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए ।
उदयपुरमा टेम्पो दुर्घटनामा एकजनाको मृत्यु भएको छ । त्रियुगा–७ बस्ने ३० वर्षीया मुना विकको धरानस्थित बीपी प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उदयपुरको चौदण्ढीगढी नपा ९ भिमा स्थित मदन भण्डारी राजमार्गमा रामपुरबाट गाईघाटतर्फ जाँदै गरेको प्र.न.२–०१–००१ ह १२४२ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा भएको थियो । दुर्घटनामा त्रियुगा–७ बस्ने २३ वर्षीया विश्वास सापकोटा, ३८ वर्षीया गोमा भट्टराई घाइते भएका छन् ।
मोरङमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मोरङको बुढिगंगा–६ सुक्चरस्थित भित्री पक्की सडक खण्डमा को९प ७८२८ नम्बरको (१२५ सिसी) को मोटरसाइकल र को२९प ६१५९ नम्बरको (२२० सिसी) को मोटरसाइकल एकआपासमा ठक्कर खान पुग्दा ७८२८ नम्बरको मोटरसाइकल चालक विराटनगर–५ बस्ने २६ वर्षीय जीतेन्द्र उराउको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उता झापामा चरनका लागि खुला छाडिएको भैसीसँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
झापाको कमल गाउँपालिका ३ स्थित सहिद गेटनजिकै को२१प ७७ नम्बरको मोटरसाइकल बाटो सडकमा भैसीसँग ठक्कर हुँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैँचा नगरपालिका ४ बस्ने ३१ वर्षीय मदनबहादुर लाय मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकलमा सवार इटहरी ४ बस्ने ३० वर्षीय अभिषेक चौधरी घाइते भएका छन् ।
दुवै जनालाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लैजाँदै गर्दा मगरको बाटोमा नै मुत्यु भएको प्रहरीले जनाएको छ । घाइते चौधरीको उपचार भइरहेको छ । घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।