धरानः धरानमा यसअघि र पछिल्लो समयमा लागूऔषधको सेवन तथा ओसारपसार बढ्दै गएपछि विद्यार्थीलाई कुलतबाट जोगाउन धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई, प्रहरी, स्कुल सञ्चालक लाग्दै आएका छन् ।
यसैबीच धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले पनि विद्यालयमै सचेतना गराएको छ । विद्यालयले शुक्रबार शैक्षिक पात्रोमा उल्लेख भएअनुसार लागूऔषध सचेतना कार्यक्रम आयोजना गरेको हो । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आसरा सुधार केन्द्रका कार्यालय प्रमुख प्रहरी निरीक्षक जसबहादुर लिम्बू विशेष अतिथि थिए । कार्यक्रममा अतिथि मनोसामाजिक परामर्शदाता आसरा सुधार केन्द्रकै टिकाराम सिग्देलले विद्यार्थीलाई परामर्श साथै विभिन्न ज्ञान प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै धरान उपमहानगरपालिकाका मेयर साम्पाङले विद्यार्थी र युवाले लागूऔषधको कुलतबाट बच्नुका साथै कतै कसैले सो प्रयोग गरेको वा ओसारपसार गरेकोबारे केही जानकारी हुनेबित्तिकै प्रहरीलाई जानकारी गराउन पनि आग्रह गरे ।
करिब ३ सय बढी विद्यार्थी सहभागी भएको कार्यक्रममा बोल्दै उनले धरानलाई लागूऔषधमुक्त बनाउन अभियान लिएर चोकचोक, गल्लीगल्ली चहारिरहने बताए । सामाजिक विकृति, बिसङ्गतिविरुद्ध सडक प्रदर्शन भइरहेको र यसलाई आफू मेयर रहुञ्जेल र मेयर नभएपनि अभियान चलाइरहने बताए । मेयर साम्पाङ अहिले पनि अभियानमै छन् । उनी लागूऔषधविरुद्धको अभियान लिएर चोकचोक, गल्लीगल्ली चहारिरहेका छन् ।
कार्यक्रममा बोल्दै उनले विष्णु स्कुल पाठ्यपुस्तकमात्रै नपढाइ व्यवहारिकरुपमै पठनपाठन गराउँदै ज्ञान दिएको स्कुल भएको बताउँदै उनले धरानको टप स्कुल भएको बताए । ‘विष्णु स्कुलले किताबको ज्ञानमात्रै सिकाएको छैन, जीवनको ज्ञान पनि सिकाइरहेको छ जस्तो लाग्छ’, उनले भने ।
उनले आफूहरुले कोकाहको पानी ल्याउनका लागि अभियान चलाइराख्दा आर्थिक सहयोग गर्नेदेखि पाइप तान्न पनि विष्णुका विद्यार्थी आएर सहयोगी भावना देखाइरहेको सम्झनयोग्य भएको बताए । उनले स्कुलले वृक्षारोपण अभियान, लागूऔषध दुव्र्यसनविरुद्धको अभियानमा पनि सहयोग गरिहेको बताए ।
उनले विद्यार्थीलाई मन लगाएर पढ्न र देश सोंचेर पढ्न आग्रह गरे । ‘पेटका लागि मात्रै सोचेर नपढौं’, उनले भने, ‘देशका लागि सोंचेर पढौं, देश र समाजको लागि बाँच्न सक्नुपर्छ, विद्यार्थीले देश र समाजका लागि बाँच्नुपर्छ ।’
उनले साथीले भनेको कुरा गलत भएपनि आमाबुबा, शिक्षक–शिक्षिकाले भनेको कुरा कहिल्यै गलत नहुने बताउँदै उहाँहरुको कुरा मात्रै सुनेर पढ्न आग्रह गरे ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रिन्सिपल निलमकुमार श्रेष्ठले विद्यार्थीलाई किताबी ज्ञानबाहेक अन्य अतिरिक्त क्रियाकलापमा पनि सक्दो जोड दिँदै विद्यालय अघि बढेको बताउँदै यसपटक शैक्षिक पात्रोमै उल्लेख भएअनुसार यस्तो कार्यक्रम राखेको बताए । उनले मेयर साम्पाङ निर्वाचित भएपछि गरेका कार्यहरुमा आफूहरुले हातेमालो गर्दै आएको बताए ।
मैनबत्ती बाल्नुभन्दा फूलको विरुवामा पानी हालेर मेयर साम्पाङले उद्घाटन गरेको कार्यक्रममा वृक्षारोपणकै सन्देश दिइएको थियो । कार्यक्रममा संस्थापक डाइरेक्टर वेनिन्द्र कटुवालले मेयर साम्पाङलाई मायाको चिनो प्रदान गर्नुका साथै विष्णु स्कुलले मासिक प्रकाशन गर्दै आएको ‘विष्णु दर्पण’ नामक पत्रिका हस्तान्तरण गरेका थिए ।
विशेषत अतिथि आसरा सुधार केन्द्रका कार्यालय प्रमुख प्रहरी निरीक्षक जसबहादुर लिम्बूले लागू पदार्थ दुव्र्यसनबाट हुने हानी साथै कानुनी प्रावधानलगायतका ज्ञानबारे जानकारी दिएका थिए ।
विद्यार्थीको प्रश्न लिने र उत्तर दिने अन्तक्र्रियात्मक कार्यक्रममा बाल क्लबका विद्यार्थी, रेडक्रसका विद्यार्थीले मेयर साम्पाङलाई देख्न पाउँदा आफूहरु हर्षित भएको विद्यार्थीले बताएका छन् । चर्चित मेयरले आफ्नै स्कुलमा भेट्न पाएकोमा गौरव महसुस भएको बाल क्लबकी अध्यक्ष कक्षा–९ स्वेच्छा आचार्यले बताइन् । रेडक्रसका सभापति कक्षा–१० जेम्स घिसिङले कार्यक्रम अत्यन्तै फलदायी भएको बताए । कक्षा–११ की सिम्रिका मोक्तानले विद्यार्थीले धेरै कुराको ज्ञान बटुल्न पाएको बताइन् ।
कार्यक्रमको सञ्चालन शिक्षक हेमन्तमणि दाहालले गरेका थिए । कार्यक्रममा प्लस टु कोअर्डिनेटर नविन शाक्य, अतिरिक्त क्रियाकलाप संयोजक शम्भु रेग्मीलगायत अध्यापकहरुको समेत उपस्थिति थियो ।
तस्वीरहरुः हाम्रो कोशी आवाज




















