Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा मंसिर १५ र १६ गते कन्सर्ट हुने, एलिना चौहान, मिलन नेवार, पूर्ण राई र पहेंलो बत्ती मुनि ब्याण्डको प्रस्तुति

हाम्रो कोशी आवाज
मंसिर १० २०८०, आइतबार
धरानमा मंसिर १५ र १६ गते कन्सर्ट हुने, एलिना चौहान, मिलन नेवार, पूर्ण राई र पहेंलो बत्ती मुनि ब्याण्डको प्रस्तुति

धरानः लामो समयको अन्तरालपछि धरानमा आगामी मंसिर १५ शुक्रबार र १६ गते शनिबार गरी दुईदिन धरानको पब्लिक हाइस्कुलको मैदानमा भव्य म्युजिकल कन्सर्ट ‘धरान म्युजिक फेस्ट २०८०’ आयोजना हुने भएको छ ।
स्थानीय तथा नयाँ कलाकारहरुलाई समेत विशेष स्थान दिइने अभिप्रायका साथ पहिलोपल्ट उत्सवको रुपमा आयोजना हुन् लागेको विशुद्ध सांगीतिक कार्यक्रम धरान म्युजिक फेस्ट २०८० को पहिलो दिन मंसिर १५ शुक्रबार युवा पुस्ताहरुमाझ लोकप्रिय ब्याण्ड पहेंलो बत्ती मुनिसँगै धोकेबाज हौ तिमी गीतबाट निकै नै चर्चामा आएकी लोकप्रिय गायिका एलिना चौहानको विशेष प्रस्तुति रहनेछ ।
पहेंलो बत्ती मुनिको गौंथली, लोरी, बरी लै, म बाटो हिँड्ने लगायतका गीतहरु युवाहरुमाझ निकै नै चर्चित छन् । त्यस्तै, अहिले निक्कै नै व्यस्त एलिना चौहानको धोकेबाजसँगै भाग्यमा खोट छ तिम्रो मायाले बाँधेर राख, के माया लाग्छ र लगायतका थुप्रै गीतहरु लोकप्रिय छन् । उनी पहिलोपल्ट धरानमा आफ्नो प्रस्तुति दिन आउँदैछिन् । सोही दिन धरानको सबमर्ज ब्याण्डले समेत आफ्नो प्रस्तुति दिनेछन् ।
दोस्रो तथा अन्तिम दिन मंसिर १६ शनिबार चर्चित गायिका तथा भ्वाइस अफ नेपालकी कोच मिलन नेवार र अहिले निक्कै चर्चामा आइरहेका धरानका प्रतिभावान गायक पूर्ण राईको विशेष प्रस्तुति रहनेछ । जहिलेसम्म संसार, गाला रातै, इट्स स्लोली, फुलबुट्टे सारी जस्ता थुप्रै चर्चित गीतहरुकी गायिका मिलनको पनि धरानमा आउटडोर पहिलो कन्सर्ट हो । धरानको सांगीतिक प्रतिभा पूर्ण राईको गीत तमी सेतो चिल्लो गाडी करिब एक महिनादेखि युट्युबको संगीत विधातर्फ नेपालको ट्रेन्डिङमा पहिलो स्थानमा रहिरहेको छ ।
त्यस्तै उनको ‘मनका कुरा’ ले युट्युबमा १७ मिलियन बढी भ्युज पाइसकेको छ भने उनको धुर्वतारा, स्पर्शसंगीत, बिराम लगायतका अन्य गीतहरु पनि युवाहरु माझ निकै नै रुचाइएका छन् । अहिले काठमाण्डौंलगायत विभिन्न शहरहरुमा उनको माग एकदमै बढिरहेको छ । धरानमा उनी आफ्नो पहिलो ठूलो कन्सर्टमा आफ्नो ब्याण्ड दाजुभाइहरुसँगै प्रस्तुति दिन एकदमै आतुर छन् ।
सो दिन धरानकै लासोज ब्याण्ड र दिब्यासन घिमिरेको समेत प्रस्तुति रहनेछ । त्यस्तै, धरानमा रहेर नेपाली संगीत क्षेत्रमा योगदान दिने केही संगीतकर्मीहरुलाई स्टेजमा सम्मान समेत गर्ने योजना आयोजकको रहेको छ ।
साउण्ड र लाइट व्यवस्थापनको जिम्मा सुन्दर साउण्डले लिएको कार्यक्रमलाई भब्य र सभ्यरुपमा सम्पन्न गर्न सम्पूर्ण तयारी अगाडी बढाइसकेको आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ । कन्सर्टमा प्रवेशको लागि टिकट दर २०० र ३०० को टिकटको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: मंसिर १० २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend