धरानः धरानमा आज शुक्रबार लोकप्रिय गायिका एलिना चौहानको विशेषत प्रस्तुतिसहितको कन्सर्ट आयोजना हुने भएको छ ।
धरानस्थित पब्लिक हाइस्कुलको मैदानमा हुने कन्सर्टमा युवा पुस्ताहरुमाझ लोकप्रिय ब्याण्ड पहेंलो बत्ती मुनिको पनि प्रस्तुति रहने छ ।
लामो समयको अन्तरालपछि धरानमा दुईदिने म्युजिकल कन्सर्ट ‘धरान म्युजिक फेस्ट २०८०’ आयोजना भएको हो । धोकेबाज हौ तिमी गीतबाट निकै नै चर्चामा आएकी एलिनाले भाग्यमा खोट छ तिम्रो मायाले बाँधेर राख, के माया लाग्छ र लगायतका थुप्रै गीतहरु पस्किनेछिन् । उनी पहिलोपल्ट धरानमा आफ्नो प्रस्तुति दिन आउँदैछिन् । धरानको सबमर्ज ब्याण्डले समेत आफ्नो प्रस्तुति दिनेछन् ।
पहेंलो बत्ती मुनिले गौंथली, लोरी, बरी लै, म बाटो हिँड्ने लगायतका गीतहरु पस्किनेछ ।
दोस्रो तथा अन्तिम दिन मंसिर १६ शनिबार चर्चित गायिका तथा भ्वाइस अफ नेपालकी कोच मिलन नेवार र अहिले निक्कै चर्चामा आइरहेका धरानका प्रतिभावान गायक पूर्ण राईको विशेष प्रस्तुति रहनेछ । जहिलेसम्म संसार, गाला रातै, इट्स स्लोली, फुलबुट्टे सारी जस्ता थुप्रै चर्चित गीतहरुकी गायिका मिलनको पनि धरानमा आउटडोर पहिलो कन्सर्ट हो । धरानको सांगीतिक प्रतिभा पूर्ण राईको गीत तमी सेतो चिल्लो गाडी करिब एक महिनादेखि युट्युबको संगीत विधातर्फ नेपालको ट्रेन्डिङमा पहिलो स्थानमा रहिरहेको छ ।
धरानकै लासोज ब्याण्ड र दिब्यासन घिमिरेको समेत प्रस्तुति रहनेछ । कन्सर्टको तयारी पूरा भएको आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ । कन्सर्टमा प्रवेशको लागि टिकट दर २०० र ३०० को टिकटको व्यवस्था गरिएको छ ।