धरानः शनिबार स्कुलकै क्रिकेट कोच श्याम शाह छात्रालाई पनि क्रिकेट खेलमा मोह जगाउन लागिपरहेको देखिन्थे । उनी भन्थे– छात्राहरुले पनि क्रिकेट खेल्नुपर्छ है किनभने धरानलगायत सुनसरीभर नै क्रिकेट खेल्ने खेलाडी नै छैनन्, यो स्कुलबाट उत्पादन भए कति राम्रो हुन्थ्यो ।
धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले छात्रछात्रालाई स्कुले जीवनदेखि नै क्रिकेट खेलप्रति लगाव देखाइयो भने भविष्यमा करिअर समेत बनाउन सकिन्छ भनेर लागिपरेको देखियो । क्रिकेट खेलमा उत्प्रेरित गराउन शनिबार प्रशिक्षण कार्यक्रम आयोजना भएको थियो । विशेषतः नेपाली टोलीका खेलाडीको खेल हेरेर धेरै छात्रछात्रा क्रिकेटतर्फ आकर्षित भएको पाइयो । प्रशिक्षणमा कक्षा–६ देखि ९ सम्मका विद्यार्थी सहभागी थिए ।
युकेदेखि आएका प्रशिक्षकहरुले उनीहरुलाई प्रशिक्षण दिएका थिए । युकेदेखि आएका आइसिसी मास्टर्स ट्युटर र ‘क्रिकेट वीद आउट वाउन्ड्री’ का ५ जना भोलेन्टियर्स मध्ये साकिव, काजल, साहा, रोवर्ट र ओलान्डाले विद्यार्थीलाई प्रशिक्षित गराए । विशेषतः केटाले मात्रै होइन केटीले पनि क्रिकेट खेल्न सक्छन् भनेर अभियानकै रुपमा लिएर उनीहरु नेपालभर सिकाउँदै हिँड्ने गरेका छन् । उनीहरु दुई महिनापछि पुनः स्कुलमा प्रशिक्षणको लागि आउनेछन् ।
स्कुलका प्रिन्सिपल निलमकुमार श्रेष्ठले विद्यार्थीले स्कुले जीवनदेखि नै क्रिकेट सिके करिअरकै रुपमा अघि बढाउन सहज हुने हुनाले प्रशिक्षक नै राखेर यस्तो प्रशिक्षणको आयोजना गर्दै आएको बताए । ‘क्रिकेटमा करिअर बनाउने सपना धेरैले देख्छन् । तर, सही गाइडेन्स र प्रशिक्षणको कमीका कारण धेरैको सपना अधुरै रहन्छ । राम्रो क्रिकेट खेलाडी बन्नका लागि समय लाग्छ । पर्याप्त अभ्यास चाहिन्छ । अभ्यासले नै बच्चाहरूको क्षमता अभिवृद्धि हुन्छ र उनीहरू प्रोफेसनल क्रिकेटर बन्ने बाटोमा अघि बढ्छन् । त्यसैले स्कुले जीवनदेखि नै क्रिकेट सिक्नु राम्रो हुन्छ भनेर हामीले विद्यालयमा क्रिकेट प्रशिक्षक नै नियुक्त गरेर विद्यार्थीलाई प्रशिक्षण दिँदै आएका छौं’, स्कुलका प्रिन्सिपल निलमकुमार श्रेष्ठले भने, ‘शनिबार भने युकेदेखि आएका प्रशिक्षकले प्रशिक्षण दिँदा विद्यार्थी झनै हौसिएका छन् ।’
माध्यमिक तह कोअर्डिनेटर शम्भु रेग्मीले युकेदेखि आएका प्रशिक्षकले प्रशिक्षण दिँदा विद्यार्थीमा थप मोह जागेको बताए । ‘यसअघि जति विद्यार्थी उत्साहित थिए’, उनले भने, ‘युकेदेखि आएका प्रशिक्षकबाट थप उत्साहित भएका छन्, यसले क्रिकेट खेल्ने विद्यार्थी पनि बढ्ने सङ्केत देखियो ।’
धरानमा क्रिकेट क्रेज घट्दो रहेको र ग्रासरुटबाटै गति दिन सकियो र सक्दो सिकाउन सकियो भने भविष्यमा धरानले पनि क्रिकेटमा गति लिनसक्ने क्रिकेट कोच शाह बताउँछन् । उनले राम्रो क्रिकेटर बन्नका लागि ब्याटिङ, बलिङ, फिल्डिङ र विकेट किपिङ अर्थात् अलराउन्ड स्किल जरुरी रहेको समेत बताए । उनले मोबाइल चलाउन छाडेर क्रिकेट सिके भविष्य पनि बन्ने हुनाले अभिभावकले पनि यसतर्फ ध्यान दिनुपर्ने बताए ।
छात्र आभाष श्रेष्ठले विष्णु स्कुलले प्रत्येक शुक्रबार र शनिबार कोच नै राखेर अतिरिक्त क्रियाकलापका विभिन्न गतिविधिहरु गराउँदै आएको बताए । ्‘पछि गएर क्रिकेटर नै बन्ने इच्छा छ,’ उनले भने, ‘सुरुमा एकेडेमी आउँदा क्रिकेटर नै बन्छु भन्ने थिएन तर अहिले इच्छा बढ्दै गएको छ । घरबाट पनि क्रिकेटर बन्न बाबाले सर्पोट गर्नुहुन्छ ।’ उनले भने ।
अभ्यासका दौरान बच्चाको क्षमता आँकलन गरेर सीप विकासमा केन्द्रित हुनुपर्ने प्रिन्सिपले श्रेष्ठले सुझाए । उनले धरानमा मात्रै नभएर पूरै देशभरि क्रिकेटको क्रेज बढ्दै गएको र अभिभावकले पनि रुचि भएका बालबालिकालाई यसतर्फ ध्यानदिनुपर्ने बताए । फस्टाउँदै गएको क्रिकेट र विभिन्न किसिमको प्रतियोगिताका आयोजन जस्ता कारणहरुले पनि नयाँ खेलाडीलाई उत्प्रेरित गरिरहेको कारणले पनि अभिभावकहरु आफैंले बालबालिकालाई सानै उमेरदेखि क्रिकेटमा लाग्न प्रेरित गर्ने गरेको उनले बताए । उनले खेलमा जित्नुमात्रै ठूलो कुरा नभई अनुशासन पनि सिकाउने बताए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज


























