धरान: मेयर हर्क साम्पाङ्गले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीलाई तत्काल कारबाही गर्न स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई पत्र पठाएका छन् । मंगलबार पत्र लेख्दै तत्काल कारबाही गरी अस्पतालको अवस्था सामान्य बनाउन आग्रह गरेका हुन् ।
प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा. कार्कीले अस्पतालमा मनोमानी गरेको साम्पाङ्गले बताएका छन् । कार्कीको मनोमानीपछि कर्मचारीहरु आन्दोलनमा उत्रिएको र अस्पतालमा उपचार सेवासहित सबै गतिविधि प्रभावित भएको साम्पाङ्गले बताएका छन् ।
‘उपकूलपतिको सम्पूर्ण अधिकार फिर्ता लिएको, आफू अनुकूलका व्यक्ति तयार गर्न प्रतिष्ठानका ११ विभागीय प्रमुखलाई पनि जिम्मेवारीबाट हटाएकोजस्ता अराजक गतिविधि गर्दै आएको हुँदा हाल उक्त विषयहरूलाई लिएर प्रतिष्ठानमा दिनहुँ आन्दोलन भई स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा ओपिडी बन्द भई बिरामीको उपचारमा प्रभावित भएको ’ उनले लेखेका छन् ।
आन्दोलन हुँदा चिकित्सा शिक्षा क्षेत्रका विद्यार्थीहरुको पठनपाठन र परीक्षासमेत ठप्प भएको उनले बताएका छन् । पत्रमा साम्पाङ्गले स्वास्थ्यमन्त्रीलाई तत्काल समस्याका निकास दिनुपर्ने माग राखेका छन् ।
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्कीको विषयलाई लिएर चिकित्सक तथा कर्मचारी केही दिनदेखि आन्दोलनमा छन् । आन्दोलन चलिरहेकै बखत मेयर साम्पाङ्गले सोमबार उनको कार्यकक्षमा ताला लगाएका थिए । उनले कार्कीलाई राजीनामा नदिए जबरजस्ती घिसारेर निकालिदिने चेतावनी दिएका थिए ।
कार्कीको कार्यकक्षमा तालाबन्दीपछि मेयर साम्पाङ्गले स्वास्थ्यमन्त्रीलाई पत्र पठाएका हुन् ।
