धरानः धरान-१७ (सर्दु पुल पारी) मा २२० बाइ ३३ केभीको सब–स्टेशनको लागि कर्मचारीका लागि आवासगृह निर्माणको काम धमाधम भइरहेको छ ।
अहिले सो भवन निर्माणको काम धमाधम भइरहेको छ । नेपाल सरकारले २०७७ कार्तिकमै धरानमा २२० केभी कोशी कोरिडोर प्रसारण लाइनको सब–स्टेशन बनाउने निर्णय गरेको थियो ।
धरानमा सब–स्टेशन बने धरानलाई दीर्घकालिनरुपमा भोल्टेजको समस्या हल गर्ने अपेक्षा गरिएको छ । यो अहिलेको भन्दा धेरै गुणा बढी भोल्टेजको सबस्टेशन रहेको आयोजना प्रमुख रामेन्द्र झा बताउँछन् । ‘यो सब स्टेशन राखिसकेपछि धरानमा भोल्टेजको समस्या समाधान हुने विश्वास गर्न सकिन्छ’, उनले भने, ‘तर अहिले फन्डिङको लागि एप्लाइ गरेका छौं, फन्डिङ फिक्स भएपछि मात्रै टेण्डरको प्रक्रिया अघि बढ्छ, तर अहिले कर्मचारी बस्ने भवन भने बन्दैछ ।’
अहिले धरान हुँदै गएको राष्ट्रिय प्रसारण लाइनको ३३ केभी क्षमताको मात्र सबस्टेशन रहेको र यो सब स्टेशन बने भोल्टेजको समस्यालगायत अन्य समस्या हल हुने उनको भनाइ छ । ‘यो सब स्टेशन धरानको भोल्टेजलाई सुधार गर्ने लक्ष्य लिएर नै बन्न लागेको हो’, उनी थप्छन्, ‘वर्षौवर्षसम्म धरानलाई पुग्छ ।’ उनका अनुसार सब स्टेशनको लागि १ अर्ब ७० करोड हाराहारीमा बजेट रहेको छ ।
यो सब स्टेशन धरानकै लागि निर्माण हुन लागेकोले धरानको मुहार फेरिने सक्ने बताइन्छ । उनका अनुसार सब स्टेशन बने भोल्टेजमा समस्या नआउँदा औद्योगिक क्षेत्रलाई थप बढवा दिन सकिन्छ । उनका अनुसार सब स्टेशन बनेपछि धरानका चौबिसै घण्टा विजुली उपलब्ध हुनेछ भने भोल्टेज समस्या पनि हुनेछैन । जसले गर्दा धरानमा निर्माण हुन लागेको औद्योगिक ग्राममा उद्योग, कलकारखानालाई राहत हुनेछ ।