धरानः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगाएको ताला खोल्न विराटनगर उच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
प्रतिष्ठानका उपकूलपति प्रल्हाद कार्कीलाई कारबाहीको माग गर्दै साम्पाङले कार्कीको कार्यकक्षमा मेयर साम्पाङले ताला लगाएका थिए । तालाबन्दीपछि सञ्जीवकुमार साहले अदालतमा रिट दायर गरेका थिए । उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा बन्द, हड्ताल, तालाबन्दी नगर्नू नगराउनू भनी आदेश जारी गरेको हो । अदालतले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हडताल, तालाबन्दी नगर्न/नगराउन भनेकाे छ ।
आदेशमा ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्तो अस्पतालमा दैनिक हजारौँ बिरामीले स्वास्थ्य सेवा र उपचार लिन आउने भएकाले मानवीय संवेदनशीलता भएको स्वास्थ्य संस्थामा बन्द हड्ताल, तालाबन्दी जस्ता कार्य भई स्वास्थ्य उपचारको सेवाबाट बिरामीहरू वञ्चित हुन गइरहेको अवस्थामा सार्वजनिक हितका लागि एवम् नागरिकहरूको स्वास्थ्य उपचार पाउने हकअधिकार समेतबाट उक्त प्रतिष्ठानमा गरिएको तालबन्दी खोली नियमित स्वास्थ्य उपचारको सेवाहरू दैनिक सुचारु गर्नु गराउनु एवं कुनै पनि व्यक्ति, संस्था, संगठनहरूबाट बन्द हड्ताल, तालाबन्दी नगर्नु नगराउनु भनी विपक्षीहरूको नाउँमा देवानी कार्यविधि संहिता २०७४ को दफा १५८ तथा उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरी दिएको’ उल्लेख छ ।
प्रतिष्ठानका उपकुलपति प्रह्लाद कार्कीकाे मनाेमानीपछि लामाे समयदेखि प्रतिष्ठानमा आन्दोलन चलिरहेकाे छ । आन्दोलनका कारण प्रतिष्ठानका सेवाहरू प्रभावित भइरहेका छन् ।
तर, आन्दोलनलाइ सम्बाेधन गर्ने सन्दर्भमा उपकुलपति कार्कीकाे भूमिका उदासिन देखिएपछि धरानका मेयर हर्क साम्पाङले केही दिनअघि तालाबन्दी गरेका थिए ।
तालाबन्दीपछि जिल्ला प्रशासन कार्यालय सुनसरी र धरानका मेयर साम्पाङसहित नाै जनालाई विपक्षी बनाएर उच्चमा रिट दायर गरिएकाे थियाे ।