धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउन धरान–१८ का वडाध्यक्षको नेतृत्वमा शान्तिपूर्ण रयाली आयोजना भएको छ ।
धरान–१८ को क्याम्प गेटअगाडिबाट शुरु भएको रयाली उपकुलपतिको कार्यालयअघिसम्म पुगेर टंगिएको छ । प्रतिष्ठानका पदाधिकारी, राजनीतिक, शिक्षक, कर्मचारी साथै गुटबन्दीले प्रतिष्ठान थाङ्थिलोमात्रै होइन हाल आएर उपचार सेवा समेत ठप्प भएकोले आन्दोलनमा होमिनुपरेको वडाध्यक्ष प्रविन राईले जानकारी दिएका छन् ।
तत्काल अस्पतालको सेवा र पठनपाठन सुचारु गर्न माग गर्दै विभिन्न प्लेकार्ड बोकेर सयौं धरानेका साथ पुगेका वडाध्यक्षले अब प्रतिष्ठान सुधार्न हदै कोसिस भएको र सबैले लत्तो छाडे भण्डाफोर गर्दै प्रतिष्ठानको गेटअगाडि धर्ना बस्ने समेत चेतावनी दिएका छन् ।
प्रतिष्ठानको अहिलेको स्थितिले ‘स्वास्थ्य उपचारको जनताको मौलिक हक’ खोसिन सक्ने अवस्था सिर्जना भएकोले त्यसको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने ध्यानाकर्षण गराउँदै शान्तिपूर्ण रयाली निकालिएको उनले बताए ।
‘आम धरानवासी बिरामी हुँदा आफ्नै आँगनको अस्पतालमा उपचारबाट वञ्चित हुने अवस्थाप्रति मूकदर्शक भएर बस्न नसकिने’ बताउँदै उनले अहिले प्रतिष्ठान खुल्ला भइसक्यो भनेर धेरैले फोन गर्ने गरेको समेत खुलाए । ‘धेरैतिरबाट फोन आउँछ, तपाईकै आँगनमा रहेको प्रतिष्ठान खुल्यो’, उनले थपे, ‘तर मैले जवाफ दिन सकेको छैन, त्यही भएर आजदेखि आन्दोलन शुरु गरें ।’
उनले पार्टीबाट पनि आन्दोलन नगर भन्दै दबाव आएको खुलाउँदै पार्टीले कारवाही गरे व्यवसाय गर्दै बस्छु भन्ने अठोटले सबैको हितको लागि आन्दोलनमा होमिएको बताए ।
पछिल्लो समय प्रतिष्ठानका चिकित्सक शिक्षक, कर्मचारीहरूको आन्दोलनले कामु उपकुलपति प्राडा.प्रहलाद कार्कीलाई बर्खास्त गर्न माग गर्दै प्रतिष्ठानको उपचार सेवा, पठनपाठन अवरुद्ध हुँदै आएको छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले यसअघि ताला समेत लगाएका थिए भने दलहरुले प्रधानमन्त्री, मन्त्रीलगायत शीर्ष नेताहरुलाई भेटेपनि प्रतिष्ठानको समस्या सुल्झिन साथै पार लाग्न सकेको छैन ।

















