धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई मंगलबार कालोमोसो दल्ने प्रयास भएको छ ।
उपकुलपतिलगायत लगायत मुख्य चारजना पदाधिकारीलाई कालोमोसो दल्न छिरेका तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कालोमासो दल्न खोज्ने तीनजनालाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नविनकृष्ण भण्डारीका अनुसार भीमबहादुर सार्की, शेरबहादुर कटुवाल र खेमबहादुर थापालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
‘शुरुमा उपकुलपतिले नै उनीहरुलाई बोलाएका थिए, उनीहरु उपकुलपतिको कार्यालयमा प्रवेश गर्नेवित्तिकै प्लाष्टिकको बोतलबाट कालो पदार्थ निकालेर हान्न खोजेका थिए, हान्न खोज्दाखोज्दै सुरक्षामा खटिएका प्रहरीले रोक्न सफल भएको छ’, उनले भने । प्रहरीका अनुसार थप अनुसन्धान भइरहेको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा संगठन नेपालले भने प्रतिष्ठान धरानका उपकुलपति डा.प्रहलाद कार्कीलाई कालोमोसो दलेको सामाजिक सञ्जालमा जनाएको छ ।