धरानः रयाडिकल लाइट नेपाल प्रा.लि. धरानले आयोजना गरेको धरान उपमहानगरव्यापी अन्तर प्लस टु स्तरीय सुमेधा वक्तृत्वकला प्रतियोगिताको मङ्गलबार भएको अन्तिम प्रतिष्पर्धामा धरान मेघा– हिमालयनका सम्पन्न सुवेदी पहिलो भएका छन ।
यु.एन. नबोदयकी स्नेहा निरौला दोश्रो भएकी छिन् भने ज्ञानोदय माविकी अनिषा कार्की तेश्रो भइन् । यसैगरी शारदा बालिका नमूना माविकी अनुस्का राई र युएन नवोदयकै शितल अधिकारी क्रमशः चौथो र पाँचौ भई सान्त्वना पुरस्कार प्राप्त गरे । पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः नगद १० हजार, ५ हजार, ३ हजार र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै, चौथो र पाँचौ हुनेले नगद १÷१ हजार र प्रमाणपत्र प्राप्त गरे । बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशसभाका सांसद रमेशकुमार बस्नेत, धरान–१३ का वडा अध्यक्ष नेत्रप्रसाद काफ्ले, सुमेधा एजुकेसन नेट्वर्क प्रा. लि. का प्रबन्ध निर्देशक सुरेन्द्र घिमिरे, हार्ट एफएमका अध्यक्ष मेहरमान हयुज लगायतले नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
धरान–१३ स्थित वडा कार्यालय परिसरमा रहेको वडा बाल सञ्जालको हलमा भएको कार्यक्रममा धरान–१३ का वडा अध्यक्ष काफ्ले, धरान–१४ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराई, युएन नवोदय कलेजका अध्यापक राम लिम्बू लगायतले मन्तब्य राखे । कार्यक्रममा एम्स एकेडेमीका कोअर्डिनेटर दुर्गा सुवेदी, पारामाउन्ट इन्टरनेसनलका प्रबन्ध निर्देशक भीम लिङ्थेपलगायतको उपस्थिति थियो । सहभागीहरुले ‘सहिदका सपना र युवाको दायित्व, सहिदका सपना र राजनीतिक नेतृत्व र लागू औषध दुव्र्यसनः चुनौती र समाधानका उपाय गरी तीन वटा शीर्षकमा बोलेका थिए ।
प्रतियोगीताको निर्णायकहरुमा महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक राजेश विद्रोही र सहिद मावि धरानका शिक्षक टंक भट्टराई रहेका थिए । विद्यार्थीहरुको आत्माविश्वासमा वृद्धि गरी नेतृत्व र ब्यक्तित्व बिकास गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए । कार्यक्रम प्रा.लि. का निर्देशक हिमाल कार्कीको अध्यक्षतामा भएको थियो । गत माघ–६ गते भएको पहिलो चरणको प्रतियोगितामा धरानभरिका १९ वटा प्लस टु का २९ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । पहिलो र माघ–१० गते भएको दोश्रो चरणबाट उत्कृष्ट १० जना फाईनलमा प्रबेस गरेका थिए ।