धरानः धरानमा पर्यटक भित्र्याउन अहिले अनेकौं प्रयासहरु भइरहेका छन् ।
धरान उपमहानगरपालिकामा चुनाव जितेर आएका मेयर हर्कराज राई (साम्पाङ) ले अहिले पनि पर्यटक भित्र्याउन अनेकौं प्रयासहरु गरिरहेका छन् । यसमध्ये अहिले उनले हजारौं धराने र धरान बाहिरबाट सहयोग लिँदै श्रमदानमार्फत् बनाइएको धरान–१३ स्थित श्रम संस्कृति पार्क पछिल्लो समय पर्यटनका लागि मुख्य ‘जक्सन’ बन्दै गएको छ ।
त्यहाँ बनेका संरचनाहरु आरा धरान, पार्क, गार्डेनले पर्यटक लगालग तानिरहेको छ । त्यहाँ निर्मित संरचनाहरु आकर्षक र कलात्मक भएका कारण त्यहाँ आकर्षण बढेको हो । धरान साथै धरान बाहिरका जिल्लादेखि देशविदेशसम्म जानेबुझेका पर्यटक पार्क अवलोकन साथै भ्रमणका लागि आउने गरेका छन् । हालसम्म त्यहाँ हजारौं पर्यटक हेर्नका लागि पुगेका छन् । बगर र पाखाहरुमा रोपिएका विविध प्रजातिका फूल साथै बोटबिरुवाहरुले पनि भ्रमण गर्न आउनेहरुको मन तान्ने गरेको छ । विशेषतः धरानको पहिचान दिने काठ काट्ने आरा धरानको ऐतिहासिक र नमूना संरचना बनेसँगै फोटो खिच्ने र रमाउनेको थलो बनेको छ ।
धरान–साँगुरीगढी पदमार्ग विस्तारको तयारी
धरान फुर्सेदेखि धनकुटाको साँगुरीगढीसम्मको बाटोलाई पदमार्गरुपमा विकास गर्न थालिएको छ । धरानमा पर्यटक भित्रयाउन पुरानो पुस्ताको समयमा धरानबाट धनकुटासम्म नुन बोक्न प्रयोग गरिएको बाटोलाई पदमार्गका रुपमा विकास गरिँदै आएको हो ।
ऐतिहासिक महत्व बोकेको यस पदमार्गलाई व्यवस्थित गर्न थप विस्तारको तयारीमा लागिएको छ । अघिल्लो वर्ष धरान–१३ स्थित आरा धरानदेखि सर्दु खोला पारीसम्म पदमार्ग निर्माण गरिएको थियो । सडकमा ढुंगा बिछ्याउँदै सर्दु खोला पारीसम्म पदमार्ग निर्माण सकिएको छ । अघिल्लो आर्थिक वर्षमा कुल ९७ लाख बजेट आएको र बजेटको ४० प्रतिशतले पदमार्ग निर्माण गरिएको थियो । २८ लाख ५१ हजार ८ सय र २० प्रतिशत श्रमदानमार्फत् सो पदमार्ग बनेको थियो । पदमार्ग निर्माणको लागि संघीय सरकारको बजेट, सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाईबाट बजेट आएको हो ।
राष्ट्र एकीकरणताका पृथ्वीनारायण शाहका सेनाहरुले प्रयोग गरेको धरानदेखि साँगुरीगढीसम्मको बाटोलाई पदमार्गका रुपमा प्रयोग गर्ने र पर्यटक भित्र्याउन थप पदमार्ग विस्तार गरिने मेयर साम्पाङले जानकारी दिए । उनका अनुसार हाल संघीय सरकारले ५० लाख रुपैयाँ पठाइदिएको छ । उनले बजेट आइसकेपनि निकै गाह्रो रहेको बताए । ‘५० लाख रुपैयाँ खातामा आइसकेको छ, स्टिमेट बनाउँदैछौं, टेण्डरबाट बनाउन खोज्दैछौं, कसैले त गर्छ होला, गरेन भने त्यही हो श्रमदानमार्फत् भएपनि बनाउँछौं ।’ उनले ४२ लाख पनि आउने सम्भावना रहेको र ९२ लाखमा सो पदमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको बताए ।
यो गढी प्रसिद्ध पर्यटकीयस्थल भेडेटारबाट २.३ किलोमिटर पश्चिमतर्फ पर्छ भने धरानदेखि करिब साढे ६ किलोमिटरको छ । करिब २ घण्टा बढीको समय लाग्ने प्राकृतिकरूपमा वन–जंगलका साथै पहाडी तथा तराई क्षेत्रको समेत अवलोकन गर्न सकिने भएकाले यसले पर्यटक तान्न सक्ने विश्वास लिइन्छ ।
यो गढी निर्माण गर्दा धरानको तामाखाम क्षेत्रको ढुंगाहरु लस्करै सेना राखेर लगिएको थियो । अहिले पनि गढीमा ती ढुंगाहरु सुरक्षित नै छन् । युद्धमा पराजित हुन नसकेका लिम्बू राजाहरुसँग तत्कालीन शाह राजाले अरुण पूर्व लिम्बुवान भूमिलाई वि.स. १९३१ साउन २२ गते सम्झौता गरी नेपालमा विलय गरेको इतिहास छ ।
यसअघि यो बाटो धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जनताहरु नुन बोक्दै हिँड्ने बाटो भनेर पनि चर्चित छ । धरानस्थित फुस्रे बजार त्यतिबेला व्यापरिक हिसाबले चम्किएको र फुस्रेमा किनमेल गर्न आउने र साँगुरीढी हुँदै फर्किने समेत गरेको बुढापाकाहरु बताउँछन् ।