धरानः धरानका विद्यालय सरसफाइमा धरान उपमहानगरपालिका लागेको छ । धरानका सामुदायिक र संस्थागत (निजी) विद्यालय हाताभित्र सरसफाइ कार्यक्रम चलाउन आग्रह गर्दै धरान उपमहानगरपालिकाले सूचना नै जारी गरेको छ ।
प्लास्टिकजन्य फोहोररहित विद्यालय बनाउन आग्रह गर्दै उपमहानगरपालिकाले सूचना नै जारी गरेको हो । बच्चैदेखि फोहोर व्यवस्थापन गर्ने बानी सिकाउन पनि यो अभियान चलाइएको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले बताएका छन् ।
स्कुलमा पुगे अहिले पनि फोहोर व्यवस्थापनको प्रयास भइरहेकै छ । ‘खासमा मैले सफाबार भन्दै प्रत्येक बिहीबार टोलटोल, चोक चोक साथै घरदैलोमा पुगेर अभियान चलाइरहेको छु’, उनले भने, ‘अब विद्यालय तहदेखि नै यो अभियान चलाउँदा अझ प्रभावकारी हुने ठानियो, विद्यालय तहदेखि अभियान चलाउँदा बच्चैदेखि बालबालिकाले पनि यो कुरा लागू गर्ने भए र घरसम्म पनि यो कुरा पुग्छ ।’
उनका अनुसार बच्चादेखि नै फोहोर मिल्काउनुपर्छ भन्ने विद्यालय तहदेखि नै सिकाइयो भने प्रभावकारी हुनेछ । ‘बालिबालिकालाई पनि फाल्नुपर्छ भनेर विद्यालयलेले सिकाए, गलत कुरा फाल्नुपर्छ भन्ने सन्देश जान्छ, बालबालिकाले जीवनको ८० प्रतिशत बानी व्यहोरा केही वर्षभित्रै सिक्छन् ।’ उनले थपे, ‘नानीदेखि लागेको फोहोर जभाभावी फाल्ने बानी पनि एक किसिमको अम्मल हो । यसलाई निमिटयान्न पार्न पनि यो अभियानले सहयोग गर्छ ।’

