धरानः धरानमा चर्चामा आएको फिल्म ‘गोर्खा वारियर’ को ग्राण्ड प्रिमियर हुने भएको छ ।
मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै प्रिमियरबारे निर्माण पक्षले जानकारी दिएको हो । यही फागुन ५ गते धरान–८ स्थित फ्रेण्डस सिनेमा हलमा प्रिमियर आयोजना हुने चलचित्रका निर्देशक मिलन चाम्सले जानकारी दिए । उनले धरान लाहुरे हरुको शहर भएकोले आयोजना गर्न लागिएको बताए । बेलायतपछि नेपालमै पहिलोपटक धरानमा ग्राण्ड प्रिमियर गर्न लागिएको उनको भनाइ छ ।
ऐतिहासिक चलचित्र भएकोले हेर्नैपर्ने चलचित्र बनेको चाम्सले दावी गरे । यसको लागि सबै कलाकारहरु धरान आउने भएका छन् । प्रिमियर शो को दिन कलाकारहरुसहित विभिन्न झाँकीसहित नगर परिक्रमा गरिने फिल्म निर्माण टिमले जनाएको छ । दोस्रो विश्वयुद्ध अन्तर्गत मलायाको युद्धमा गोर्खा सैनिकले वीरताका साथ लडेर हासिल गरेको सफलतासँगै उनीहरूको संघर्षको कथा बोल्ने ‘गोर्खा वारियर’ बाट रितेश चाम्सले डेब्यू गरेका छन् ।
चलचित्रमा विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रेयर राई, बिरूप घले, सारा राईलगायतका कलाकारको अभिनय छ । चाम्सले यो फिल्मलाई नेपालीसहित हिन्दी, अंग्रेजी र कोरियाली भाषामा रिलिज गर्ने तयारीमा छन् । फिल्म यही फागुन ११ गते देशभरका सिनेमाहलहरुमा एकसाथ प्रदर्शनमा आउँदैछ ।
गोर्खा सैनिकले सन् १९४९ मा ‘मलाया इमरजेन्सी जंगल वार’ मा देखाएको बहादुरीको कथामा आधारित भएर बनेको हो । ‘गोर्खा वारियर’ ब्रिटिस एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्ट्स (बाफ्टा) अवार्डका लागि छनोटमा परेको थियो । बाफ्टा अवार्ड ओस्कारपछि विश्वव्यापी रूपमा सबैभन्दा प्रतिष्ठित पुरस्कार मध्ये एक हो ।