धरानः धरानका चर्चित गायक विजय वाम्वुले राईको पहिलो पटक धरानमा एकल सांगीतिक साँझ हुने भएको छ ।
फागुन २ गते फेब्रुअरी १४ पे्रमिल जोडीहरुको विशेष दिन भ्यालेन्टाइन डेको अवसरमा विजय बाम्वुले एकल साँझ हुन लागेको हो । धरान–१५ बगरकोटस्थित विजिएन लाउन्ज एण्ड वारमा उनले लाइभ प्रस्तुति दिन लागेका हुन् । धरानमा निकै चर्चित रहेका धरान–११ निवासी लोक आधुनिक गायक बाम्बुलेले ४० वटा गीतमा आफ्नो स्वर दिइसकेका छन ।
उनले करिव एक सय वटा गित कम्पोज गरिसकेका छन भने दर्जन भन्दा बढी म्युजिक भिडियो तयार गरि सकेका छन् । उनले आफैले स्वर दिएका किराती हामी र बगरकेटैमा गीत निकै चर्चित छन् । उनकै संगितमा मेलिना राईले गाएका तिम्रै लाग्छ माया, मिलन नेवारले गाएका यो मनको प्यारो मान्छे र इन्डियन आइडलमा अहिले चर्चित भइरहेका गायिका मेनुका पौडेलले स्वर दिएका हाम्रो हुन्न कहिले मिलन गीतहरु चर्चित छन् ।
प्रेमिल जोडीहरुको विशेष दिनको रुपमा मानिने भ्यालेन्टाइन डेको अवसरमा आयोजित एकल साँझमा बाम्बुलेले आफूले गाएका तथा संगीत भरेका गीतसँगै एक दर्जन बढी युगल कभर गीतहरु गाएर दर्शकलाई मनोरञ्जन दिने भएका छन् । युगल गीतमा उनलाई गायिका ज्योति सुनुवारले साथ दिनेछिन् ।