Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा डिपो बास्केटबलको तयारी

हाम्रो कोशी आवाज
माघ २४ २०८०, बुधबार
धरानमा डिपो बास्केटबलको तयारी

धरानः डिपो स्कुलको आयोजना तथा सुनसरी बास्केटबल र धरान बास्केटबल संघको सहयोगमा दोस्रो इन्टर स्कुल स्व. मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कप हुने भएको छ ।
प्रतियोगिता यही फागुन ४ गते देखि ९ गते सम्म हुने बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजक डिपो स्कुलले जनाएको छ । प्रतियोगितामा झापा, सुनसरी र मोरङका गरी करिब १६ वटा विद्यालयले सहभागिता जनाउने आयोजक डिपो आदर्श बहुमुखी क्याम्पस प्रमुख राजकुमार राईले जानकारी दिए । प्रतियोगितामा कक्षा १० सम्मका खेलाीडहरुले मात्र सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिताका बिजेता टिमले नगद १५ हजार रुपैयाँ, उपविजेताले नगद ७ हजार ५ सय रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एभिपी र हाइ स्कोर उपाधि बिजेताले ट्रफी र मेडल प्राप्त गर्नेछन् ।
डिपो स्कुललाई यहाँसम्म ल्याइपुरयाउन लामो समय महत्वपूर्ण योगदान दिएका दिवंगत मेजर श्रवणकुमार लिम्बूको सम्मानमा गत सालदेखि विद्यालयस्तरीय बास्केटबल प्रतियोगिताको आयोजनाको सुरुवात गरिएको डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन अम्मरबहादुर लिम्बूले जानकारी दिए । प्रतियोगिता आयोजनाका लागि डिपो स्कुल र दिवंगत मेजर श्रवणकुमार लिम्बूको परिवारबीच सहकार्य रहेको अध्यक्ष लिम्बूले जानकारी गराए । मेजर श्रवणकुमारले डिपो स्कुल व्यवस्थापन समिति वरिष्ठ सल्लाहकारको रुपमा १५ वर्ष, डिपो सार्वजनिक शैक्षिक गुठी व्यवस्थापन समिति अध्यक्ष १९ वर्ष र व्यवस्थापन समितिको अध्यक्षमा १६ वर्ष लामो समय नेतृत्वमा रही डिपो स्कुल विकासमा योगदान दिएका थिए । उनकै पालामा डिपो स्कुलमा प्लस टु र व्याचलर लेवल अध्यपन शुरु भएको थियो । उनको कोरोना महामारीको कारण २०७८ साल श्रावण १५ गते निधन भएको थियो ।
पत्रकार सम्मेलनमा स्वागत मन्तव्यको क्रममा व्यवस्थापन समिति सदस्य सूर्य पन्धाक लिम्बूले मेजर श्रवणकुमार लिम्बूको योगदानको बारेमा प्रकाश पारेका थिए । प्रतियोगिताको सम्पूर्ण खेल धरान–१८ स्थित डिपो स्कुलको बास्केटवल कोर्टमा सम्पन्न हुनेछ । प्रतियोगितामा सहभागिताका लागि अन्तिम मिति फागुन १ सम्म रहेको र खेल तालिका फागुन २ गते तयार गरिने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति: माघ २४ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend