धरानः धरान पढ्ने विद्यार्थीले ब्याट्री र पेट्रोलबाट चल्ने सवारी साधन (गो–कार्ट) बनाएर देखाएका छन् ।
धरान उपमहानगरपालिकाको प्राङ्गणमा प्रदर्शन गरिएको सो सवारी साधन हेर्न धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङदेखि कर्मचारी साथै मेयर साम्पाङले सडकमा हाँक्दा समेत हेर्नेको भीड नै लाग्यो । उनले सो सवारी साधन उपमहानगरपालिका प्राङ्गणदेखि अगाडिको सडकसम्म कुदाएर परीक्षण समेत गरेका थिए ।
धरान–८ स्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले सो सवारी साधन बनाएर प्रदर्शन गरेका हुन् । मेकानिकल इन्जिनियरिङ पढ्ने विद्यार्थी मिलन वनका अनुसार सो सवारी साधनमध्ये ब्याट्री र पेट्रोलबाट चल्ने बताइएको छ । हाल विद्यार्थीले एउटा ब्याट्रीबाट चल्ने विद्युतीय गो–कार्ट र तीन वटा पेट्रोलबाट चल्ने सवारी बनाइसकेको उनले जानकारी दिए ।
इन्जिनियरिङ क्याम्पसमा मेकानिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत मेकानिकल इन्जिनियरिङका विद्यार्थीहरु प्रज्ज्वल राई, नारायण खनाल, मिलन वन, मौसम विष्ट, सुनिल बुढाथोकीलगायत ५० जना विद्यार्थीको समूहले सो सवारी साधन बनाएका हुन् । ‘सोसाइटी अफ मेकानिकल इन्जिनियरिङ स्टुडेण्टस’को संयोजन सो सवारी साधन निर्माण भएको पनि विद्यार्थीले जानकारी दिएका छन् ।
नगर प्रमुख साम्पाङले सो सवारी हाँकिसकेपछि अन्ततः सहयोग गर्ने मनस्थितिमै पुगेका थिए । उनले आफूले धरानमा आविष्कार केन्द्र नै निर्माण गर्ने भनेर लागिपरेको र यस्तो आविष्कार हुनु खुशीको कुरा भएको बताउँदै भने, ‘आज जे भो झकास भो, तपाईहरुको लागि मैले सकेजति सहयोग दिन तयार भएँ ।’ उनले नयाँ इन्जिन लगाएर नयाँ स्वरुपमा अर्को यस्तै सवारी साधन निर्माण गरेर देखाउन र नगरपालिकालाई हस्तान्तरण गर्न समेत आग्रह गरे ।
विद्यार्थीले हाल पुराना इन्जिनहरु जम्मा गर्दै त्यस्तो सवारी साधन बनाएका हुन् ।













