धरानः धरान–३ स्थित भानुस्मृति माविमा अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना भएको छ ।
कार्यक्रममा जेहेन्दार पुरस्कार, शैक्षिक तर्फको प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कृत, खेलकुद सप्ताह (फुटबल, बास्केटबल, भलिबल, क्रिकेटलगायत खेलकुदका गतिविधि) मा सहभागीलाई पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा धरान उपमहानगरपालिका वडा नं. ३ ले खेल्ने सामग्री (क्यारामबोर्ड, लुँडो, चेसलगायत) सहित एक लाख बराबरको तीनवटा स्टिल दराज पनि प्रदान गरेको प्रधानाध्यापक रविन्द्र सुवेदीले जानकारी दिए ।
धरान–३ का वडाध्यक्ष विद्या शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रमको अध्यक्षता व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष चन्द्रबहादुर राईले गरेका थिए ।
कार्यक्रममा वडाध्यक्ष विद्या शाक्य, शिक्षक अभिभावक संघकी अध्यक्ष शान्ता अधिकारी, व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर राईलगायतले समेत बोलेका थिए । कार्यक्रमको सञ्चालन अध्यापकहरु ओमनाथ रिमाल, प्रबल श्रेष्ठ र अप्सरा कार्कीले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य अध्यापक हेमचन्द्र अधिकारीले गरेका थिए । कार्यक्रममा विद्यार्थीले नृत्यलगायतको प्रतिभा समेत प्रदर्शन गरेका थिए । कार्यक्रममा कक्षा–६ की छात्रा अनुषा खत्रीले समेत मन्तव्य व्यक्त गरेकी थिइन् ।















