धरानः धरान–१८ स्थित डिपो आदर्श बहुमुखी क्याम्पसको एकहप्ते वार्षिक खेलकुद उत्सव २०८० शुक्रबार सम्पन्न भएको छ ।
फागुन २० गतेदेखि शुरु भएको एकहप्ते वार्षिक खेलकुद उत्सव २०८० को च्याम्पियन उपाधि म्यानेजमेन्ट फ्याकल्टीले चुमेको छ । म्यानेजमेन्ट टिमले १५ गोल्ड, ८ सिल्भर र १० ब्रन्ज मेडल जित्दै डिपो खेलकुद उत्सव २०८० को च्याम्पियन उपाधिमाथि कब्जा जमाएको हो । यसैगरी साइन्स फ्याकल्टीले १३ गोल्ड, १९ सिल्भर र १५ व्रन्ज मेडल प्राप्त गर्दै दोस्रो भए । विविएसले ४ गोल्ड, ३ सिल्भर र २ ब्रन्ज मेडल जित्दै तेस्रो भए । च्याम्पियन टिमलाई बिजेता ट्रफी प्रदान गरिएको थियो ।
शुक्रबार बिबिएस र म्यानेजमेन्ट टिमबीच बास्केटबल खेलको फाइनल खेल सम्पन्न हुँदै खेलकुद उत्सवको समापन भएको थियो । फाइनल खेलमा बिबिएस ३७–१८ अंकको अन्तरले विजयी भएको थियो । खेलकुद उत्सवमा एथ्लेटिक खेलतर्फ महिला–पुरुष १०० मि. २०० मि., ४०० मि., ८०० मि., १५०० मि., ३००० मिटर रेस, हाइजम्प, लङजम्प, ट्रिपल जम्प, सर्ट पुट प्रतिस्पर्धा भएको थियो ।
यसैगरी अन्य खेलहरुमा फुटबल, बास्केटबल, भलिबल, सेपाकटेक्रो, व्याडमिन्टन र चेस खेल सम्पन्न भएको थियो । खेलकुद उत्सवका बिजेता तथा उपबिजेता सम्पूर्ण खेलाडीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । उनीहरुलाई कार्यक्रमका सभाध्यक्ष डिपो आदर्श बहुमुखी क्याम्पस प्रमुख राजकुमार राई, प्रमुख अतिथि व्यवस्थापन समिति अध्यक्ष हर्क राई, सदस्य सूर्य पन्धाक लिम्बू, सहायक क्याम्पस चिफ डा. एनएल राजवंशी, साइन्स फ्याकल्टी संयोजक विरान लिम्बू, शिक्षक ताजुव लिम्बूलगायतले पुरस्कार वितरण गरेका थिए ।
विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागिता गराई उनीहरुको क्षमता अभिवृद्धिमा सहयोग पुरयाउनका लागि हरेक वर्ष डिपोले प्लेगु्रप देखि बिबिएस कक्षासम्मका विद्यार्थीहरुका लागि प्रतिस्पर्धात्मक खेलकुद उत्सव गराउँदै आइरहेको क्याम्पस प्रमुख राजकुमार राईले जानकारी गराए ।
प्ले ग्रुपदेखि कक्षा–१० सम्मका वार्षिक खेलकुद उत्सव केहीदिनअघि सकिएको राईले बताए । यसैगरी भर्खरै सम्पन्न एकहप्ते उत्सवमा ११, १२ कक्षा म्यानेजमेन्ट, ११, १२ कक्षा साइन्स र पहिलो, दास्रो, तेस्रो र चौथो वर्षका बिबिएस विद्यार्थीहरुले सहभागिता जनाएको उनले जानकारी दिए । खेलकुद उत्सवको सम्पूर्ण खेल कलेजको आफ्नै खेल मैदानमा सम्पन्न भएको थियो ।
तस्वीरः विकास चाम्लिङ राई
