धरानः केन्द्रीय सरकारले सहयोग नगरेको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ रोएका छन् ।
उनी धरान-१३ स्थित खानेपानीका लागि बनाउँदै गरेको रिचार्ज पोखरीमा शनिबार बिहानै रोएका हुन् । उनी अचानक डाँको छोडेर रोएका थिए ।
उनले सम्बोधनका क्रममा भनेका थिए, ‘म मर्दा कोहीपनि मलामी नआउनू’ भनेर बोल्नेवित्तिकै उनी भक्कानिए र डाँको छोड्दै भने- तर देश बनाउन जब बोलाउँछु त्यतिखेर आउनुपर्छ तपाईहरु ।’ उनले नेपालमा धेरै कुराहरु भएको समेत बताए । उनको यो इङ्गीत सरकारको असहयोग नै भएको उनको प्रतिक्रिया छ । उनी रुँदा श्रमदाताहरु पनि भक्कानिएका थिए ।
निकै भावुक हुनुभयो त भन्ने प्रश्नमा उनले भने, ‘खासमा केन्द्रीय सरकारले मलाई केहीपनि सहयोग गरेको छैन जस्तो लाग्छ’, उनले भने, ‘प्रधानमन्त्री बोलाउँदा त धरान आउनु भएन के को सहयोग ?’
यसअघि धरानको खानेपानी, एयरपोर्टलगायतका समस्या राख्न धरान डेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई धरान बोलाएका थिए । उनी धरान नआएपछि उनले आफ्नो कार्यालयबाट तस्वीर समेत हटाएर यलम्बरको तस्वीर राखिराखेका छन् ।
उनले अहिले पनि धरानेलाई पानी खुवाउन मरिहत्ते गरेर लागिरहेका छन् । निशानेबाट पो ल्याउँदा हुन्छ कि, पकुवाबाट ल्याउँदा हुन्छ कि, कोकाहबाट ल्याउँदा हुन्छ कि भनेर उनी लागिरहेका छन् । उनले अझै धरानमा खानेपानीको समस्या जस्ताको त्यस्तै रहेको भन्दै केन्द्रीय सरकारलाई गुहार माग्दै आइरहेका छन् ।
उनी यसअघि पनि पटक पटक रोएका छन् । सर्दु जलाधार जोगाउने भन्दै वृक्षारोपण कार्यक्रम, कोकाहको पानी धरान झारेपछि पनि उनी रोएका थिए ।
उनी अहिले धराने जनता, देशविदेशमा छरिएर पसिना बगाइरहेका नेपालीहरुको सहयोग रकमले श्रमदानमार्फत् पानीकै लागि दौडिरहेका छन् ।