धरानः गोधुली रनिङ कप फुटबल प्रतियोगिताको उपाधि धरान–१३ ले जितेको छ ।
यसअघि पनि धेरैपल्ट उपाधि जितेको धरान–१३ ले यसपटक पनि उपाधि जमाएको हो । २४ औं प्रतियोगितासम्म आइपुग्दा धरान–१३ ले चारपल्ट उपाधि जितेको छ ।
धरान–१६ स्थित रंगशालामा शनिबार साँझ सम्पन्न खेलमा धरान–१७ लाई ट्राइब्रेकरमा हराउँदै धरान–१३ ले उपाधि जितेको हो । निर्धारित समयमा १–१ बराबरी गोली भएपछि ट्राइब्रेकरमा प्रतिस्पर्धा भएको थियो ।
निर्धारित समयमा धरान–१३ का दोर्जे तामाङले गोल हानेका थिए भने धरान–१७ का मिलन राईले गोल हान्न सफल भएका थिए । ट्राइब्रेकरमा धरान–१७ का खेलाडी मिलन राई, युनेश बुढाथोकी र सविन राईले एक एक गोल गरेका थिए भने सौजन राईको प्रहार बाहिरिएको थियो । धरान–१३ विपिन श्रेष्ठ, विवेक राई, दोर्जे तामाङ, इक्साहाङ लिम्बू र मिलन लिम्बूले भने गोल गर्न सफल भएका थिए ।
उपाधि बिजेता धरान–१२ ले १ लाख ५० हजार र उपविजेता धरान–१७ ले ७५ हजार रुपैयाँ जितेको छ । धरान–१८ का वडाध्यक्ष नरेन्द्रकुमार राईको बुबाबाट बिजेता र उपबिजेताका लागि थप २५–२५ हजार पुरस्कार राशी प्रदान गरेका थिए ।
खेलको सर्वोत्कृष्ट खेलाडी धरान–१७ का प्रज्वल थापा, हाइस्कोरर धरान–१३ का मिलन लिम्बू घोषित भएका थिए भने म्यान अफ दि म्याच धरान–१३ का दोर्जे तामाङ, वेष्ट गोलकिपर १३ कै मिलन घिमिरे, वेष्ट डिफेन्स निश्चल श्रेष्ठ, वेष्ट मिडफिल्डर धरान–१७ का दिवश सुनुवार, वेष्ट स्ट्राइकर धरान–१७ का तपन कार्की, वेष्ट कोच धरान–१३ का सिजन राई घोषित भएका छन् । फेयर प्ले टिम धरान–१४ र राइजिङ प्लेयर धरान–१३ का मिलन लिम्बूले हात पारेका छन् ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ, विशेष अतिथि निवर्तमान मेयर तिलक राई, एन्फा कोशी प्रदेशका अध्यक्ष किशोर राईलगायतले बिजेता र उपबिजेतालाई पुरस्कार प्रदान गरेका थिए ।








