धरानमा नेपाल कम्युनिष्ट पार्टी संयुक्त जिल्ला समिति सुनसरीले अन्तक्रिर्या कार्यक्रम आयोजना गरेको छ ।
‘वर्तमान राष्ट्रिय परिस्थिति र नेपाली विशेषताको समाजवाद’ विषयक अन्तक्र्रिया कार्यक्रम धरान–१९ स्थित ड्रिमल्याण्ड होटलमा सम्पन्न भएको हो । नेकपा दक्षिण सुनसरी सेक्रेटरी जीवन सीले कार्यक्रममा आधारनोट पेश गर्दै हरेक उत्पीडित जाति, लिङ्ग, वर्ग, समुदाय क्षेत्रलाई पुँजीवादी संसदीय व्यवस्थाले अधिकार दिन नसक्ने बताए । उनले भने, ‘यो पुँजीवादी संसदीय व्यवस्थाले कसैलाई अधिकार दिन सक्दैन, त्यसैले नेपाली विशेषताको समाजवादका निम्ति जुट्न अपिल गर्दछु ।’
कार्यक्रममा बोल्दै प्रमुख वक्ता चिरन सीले पुराना दलका नेता इमान्दार नभएकै कारण नेपाली जनताले दुःख पाएको र अब हरेक राष्ट्रवादी, परिवर्तनगामी जनताले सोच्नुपर्ने बेला आएको बताउँदै एकअर्कालाई गाली गरेर मात्र समय व्यथित गर्न नहुने बताए । उनले आलोचनालाई छाडेर नेपाली विशेषताको समाजवादमा गोलबन्द हुनुको विकल्प नभएको समेत बताए ।
नेकपा दक्षिण सुनसरी सेक्रेटरी जीवन सीको अध्यक्षतामा भएको कार्यक्रममा सजमाजवादी लिम्बू मोर्चाका केन्द्रीय अध्यक्ष जीवन सी, नेकपा एमालेबाट पारस काङमाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मोहनप्रसाद तिगेला, नेकपा क्रान्तिकारी माओवादीका पेमा लामा, बामपन्थी नेता भूमि चाम्लिङ र माक्र्सवादी लेखक राजेन्द्र किरातीले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन उत्तर सुनसरी सेक्रेटरी सुरेश सीले गरेका थिए ।




