धरानः धरानमा पनि सरस्वती पूजा मनाइएको छ । विद्या खानीकी देवी सरस्वती माताको बुधबार धरान–९ स्थित विष्णु स्कुलले पनि धुमधामका साथ मनाएको छ ।
विद्यालयले सरस्वती पूजा मनाउनुका साथै अक्षरारम्भ समेत गराइएको थियो । कार्यक्रममा अधिकांश अभिभावक साना, साना बालबालिकासँगै उपस्थित थिए ।
श्रीपञ्चमीको दिन सरस्वतीको पूजा गरे विद्या बढ्ने, पढ्नमा तीक्ष्ण र विद्यार्थी मेधावी बन्ने विश्वास छ । सरस्वतीलाई विद्या र बुद्धिकी ज्ञाता मानिन्छ जसको कारण आजको दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ । सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ ।
हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा विद्याकी देवी सरस्वरीको पूजाआज गरिन्छ । वसन्त ऋतु सुरु भएसँगै यो पर्व आउने भएकाले वसन्तपञ्चमीको नामले समेत आजको दिनलाई पुकार्ने गरिन्छ ।
आजकै दिनबाट सूर्य उत्तरतिर लागि दिन लामो हुने र बसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ यस दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । यस दिन विवाह, ब्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने विश्वास छ । यस दिन बालबालिकालाई अक्षरराम्भ गर्नुका साथै नाक, कान छेडिदिने पनि गरिन्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोइ निलेमा विद्या र वुद्धि स्फूरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ । सरस्वती पूजा या श्रीपञ्चमी वा वसन्त पञ्चमी जे भनिए पनि आज विद्या र संगीतकी प्रतिरूप सरस्वतीको पूजा आराधना गरी मनाइने विशेष दिन हो ।
तस्वीरहरुः हाम्रो कोशी आवाज


























