Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको विष्णुका विद्यार्थी कृषि क्षेत्रबाट सिक्दै, अर्गानिक खेती गर्ने राई ५५ रुपैयाँबाट २ करोडको मालिक

हाम्रो कोशी आवाज
फाल्गुन ४ २०८०, शुक्रबार
धरानको विष्णुका विद्यार्थी कृषि क्षेत्रबाट सिक्दै, अर्गानिक खेती गर्ने राई ५५ रुपैयाँबाट २ करोडको मालिक

धरानः धरान–९ स्थित विष्णु मेमोरियल स्कुलका विद्यार्थी कृषि क्षेत्रको भ्रमणमा पुगेका छन् ।
कक्षा–८ मा अध्ययनरत छात्रछात्राहरु कृषि क्षेत्रको भ्रमणमा पुगेका थिए । विद्यार्थीहरूले धरान–४ वसन्तटारको सोताङ अर्गानिक फर्मको अवलोकन गरेका हुन् । अर्गानिक तरकारीका अभियन्ता कृष्ण राईको साथमा अर्गानिक तरकारी खेतीको अवलोकन गर्नुका साथै बङ्गुरपालन, माछापालन, गाईपालनको पनि उनीहरूले अवलोकन गरे ।
विद्यार्थीले कसरी अर्गानिक तरकारी उत्पादन गर्न सकिन्छ र आफूले घरमै करेसाबारीमा पनि तरकारी उत्पादन गरेर खान सकिनेलगायतको कुरा सिकेको थिए । श्रम गरे कृषि क्षेत्रबाटै आम्दानी गर्न सकिने र विदेशसमेत गइरहनुनपर्ने सन्देश अभियन्ता कृष्ण राईबाट विद्यार्थीले सिकेका थिए ।
अर्गानिक तरकारीलगायत कृषि क्षेत्रको सम्भावनाबारे बुझ्दा विद्यार्थी हौसिएको प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए । ‘विद्यार्थीले कक्षाकोठामा सैद्धान्तिक ज्ञान मात्रै लिएको तर फर्म पुगेपछि प्रयोगात्मक र व्यवहारिक ज्ञान पाए, यसले पढाइसँगै अन्य व्यवहारिक क्रियाकलाप गर्न पनि अग्रसर गराउँछ भन्ने ठानेका छौं ।’
कृषक तथा अभियन्ता राईले अर्गानिक तरकारी वा कृषिजन्य वस्तुहरुको उत्पादन, रासायनिक मलको प्रयोगबाट उत्पादित कृषिजन्य सामग्रीले मानिसमा पार्ने प्रभावलगायतको कुरा विद्यार्थीले सिकेको बताए । उनले बङ्गुरपालन, माछापालन, गाईपालनका साथै टमाटर खेती, अन्य तरकारी खेतीबारे पनि विद्यार्थीले ज्ञान पाएको बताए । विद्यार्थीले त्यहाँ सिकेका कुराहरुको रिपोर्ट तयार गर्ने र प्रस्तुत गर्ने प्रिन्सिपल श्रेष्ठले जानकारी दिए ।
कृषक राईले अर्गानिक तरकारीको उपभोग नगर्नाले विभिन्न रोगहरू निम्तिन सक्ने बताए । ‘तरकारीमा विषादी प्रयोग गर्दा कृषकलाई पनि असर गर्छ, उपभोक्तालाई त झनै असर गर्छ,’ उनले भने, ‘तपाईंहरू जस्तो विद्यार्थीले पनि यसबारे सचेतना फैलाउनुपर्छ ।’ उनले आफूले ५५ रुपैयाँबाट हाल करिब २ करोडको मालिक समेत बनेको विद्यार्थीलँई सुनाए । ‘५५ रुपैयाँमा मैले व्यवसाय सुरु गरेको हुँ तर अहिले मेरो सम्पत्ति नै २ करोड बढीको भइसकेको छ’, उनले भने, ‘अहिले आएर चाहिँ म अझै हौसिएको छु, अझै यसलाई बृहत बनाउँदैछु ।’ उनले उनले आफू जिल्लाकै अगुवा किसानको पहिचान बनाउँदै राष्ट्रियस्तरको पुरस्कारबाट पुरस्कृत समेत भइसकेको बताए ।
२०५५ सालमा सुरु गरेको तरकारीखेती हाल आएर सोताङ अर्गानिक एग्रिकल्चर रिसर्च सेन्टर नामक कृषि फर्ममा परिणत भइसकेको उनले जानकारी दिए । राईले अर्गानिक तरकारीखेती र पशुपालनबाट राम्रो आम्दानी गर्न थालेपछि धरान बसन्तपुरको सिंगो बस्ती यतिबेला अर्गानिक तरकारीखेतीतर्फ आकर्षित भएको समेत जानकारी दिए ।
किसान राईले ४२ कठ्ठा जमिनमा लगाएको तरकारी र गाईको दूध बिक्री गरेर मासिक चार लाख बढी कमाउने गरेको बताए । विषादी र रासायनिक मल प्रयोग गरी उत्पादन गरेको तरकारीले वातावरण प्रदूषित गर्नुका साथै मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने भएकाले आफूले अर्गानिक तरकारीखेती सुरु गरेको राईको भनाइ छ । २०६२ सालदेखि शुरु भएको अर्गानिकखेती हाल आएर डेढ सय घरपरिवारले व्यावसायिक रूपमा गरिरहेका छन् । यस्तै, कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई पर्यटन, धर्म तथा संस्कृतिको दृष्टिकोणले महत्वपूर्ण स्थान ‘जनकपुरधाम’ को शैक्षिक भ्रमण समेत गराइएको छ । गत पौष २८ गते शनिबार उनीहरुले त्यहाँ पुगेर नयाँ नयाँ विषयमा जानकारी लिएर फर्किएको प्रिन्सिपल श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति: फाल्गुन ४ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend