धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजका विद्यार्थीले धरान उपमहानगरस्तरीय लोकनृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएका छन् ।
कलेजमा अध्ययनरत् विद्यार्थी धरान नृत्यकला प्रतिष्ठानले आयोजना गरेको धरान उपमहानगरस्तरीय अन्तर विद्यालयस्तरीय रनिङ शिल्ड लोकनृत्य प्रतियोगितामा प्रथम भएका हुन् । विद्यार्थीले प्रतियोगितामा जितेर नगद ३५ हजार, रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।
यसैबीच मङ्गलबार एक कार्यक्रमको आयोजना गरी कलेजले प्रतियोगितामा जित्ने विद्यार्थीलाई सम्मान समेत गरेको छ । विद्यार्थीहरुलाई हौसला प्रदान गर्नका लागि सम्मान गरिएको क्याम्पस प्रमुख डम्बरकुमार तुम्वापोले जानकारी दिए ।
कलेजका अध्यक्ष एवम् म्यानेजिङ डाइरेक्टर ज्ञानेश्वर झा, क्याम्पस प्रमुख तुम्वापो, होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ साथै अध्यापकहरु विजय अछामी, गौरव शाक्य, जानुका तुम्वापो, सिर्जना लिम्बू, सुमन बाँस्कोटा, अनिमेश बाँस्तोला, नुर खान, राम लिम्बूलगायतले उनीहरुलाई प्रमाणपत्र, मेडल, खदा र अविर लगाएर सम्मान गरेका थिए । सम्मान पाएपछि विद्यार्थी हर्षित हुँदै आफूहरुको निकै मिहिनेतले विजयी बन्न सफल भएको बताए ।
कलेजका अध्यक्ष झाले लोकनृत्य प्रतियोगितामा प्रथम भएर कलेजकै नाम राख्न सफल भएको भन्दै विद्यार्थीहरुलाई धन्यवाद तथा बधाई समेत दिएका थिए । कार्यक्रमको सञ्चालन अध्यापिका दिब्या झाले गरेकी थिइन् ।


























