Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा लिम्बूको सम्मान तथा स्मृतिमा बास्केटबल, डिपो बास्केटबल कपको उपाधि होलिल्याण्डलाई

हाम्रो कोशी आवाज
फाल्गुन ८ २०८०, मंगलबार
धरानमा लिम्बूको सम्मान तथा स्मृतिमा बास्केटबल, डिपो बास्केटबल कपको उपाधि होलिल्याण्डलाई

धरानः धरानमा दोस्रो इन्टर स्कुल मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कपको उपाधि होलिल्याण्ड स्कुलले चुमेको छ ।
डिपो स्कुलको आयोजना तथा धरान बास्केटबल सङ्घ र सुनसरी बास्केटबल सङ्घको सहयोगमा मङ्गलबार सम्पन्न भएको फाइनल खेलमा होलिल्याण्डले प्रभात स्कुललाई ३८–२३ अङ्कको अन्तरले पराजित गर्दै दोस्रोपटक उपाधिमाथि कब्जा जमाएको हो । गत सालको पहिलो संस्करणको उपाधि समेत होलिल्याण्ड स्कुलले चुमेको थियो ।
खेलको प्रत्येक क्वाटरमा होलिल्याण्ड स्कुल र प्रभात स्कुलले ६–३, १९–५, ९–६ र ४–९ अङ्क जोडेका थिए । फाइनल खेलमा होलिल्याण्डका युकुहाङ लिम्बूले व्यक्तिगत ८ अङ्क जोडेका थिए । यसैगरी प्रतियोगिताका हाइस्कोरर उपाधि बिजेता प्रभात स्कुलका लियोन राईले व्यक्तिगत १२ अङ्क जोडे । उनले प्रतियोगिता अवधिभरि व्यक्तिगत ८० अङ्क जोड्दै हाइस्कोररको उपाधि चुमेका हुन् ।
प्रतियोगिताका उपाधि बिजेता होलिल्यण्ड स्कुलले नगद पुरस्कार १५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेता प्रभात स्कुलले ७ हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी मोस्ट भ्यालुएवल प्लेयरको उपाधि होलिल्याण्ड स्कुलका पारस रोया घोषित भए । प्रतियोगिताभरि उनको उत्कृष्ट प्रदर्शनले होलिल्याण्ड स्कुलले उपाधि जित्न सफल भएको थियो ।
उत्कृष्ट खेलाडी र हाइस्कोर उपाधि विजेताले जनही नगद एक हजार रुपैयाँ, लेखक जनकऋषि राईद्वारा लिखित पुस्तक, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । उनीहरुलाई कार्यक्रमका सभाध्यक्ष डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन अम्मरबहादुर लिम्बू, प्रमुख अतिथि कोशी प्रदेश सांसद् रमेश बस्नेत, विशेष अतिथि डिपो स्कुल सार्वजनिक गुठी संस्थाका अध्यक्ष भीमराज लिम्बू, सुनसरी बास्केटवल संघ अध्यक्ष नारायण सुवेदी, व्यवस्थापन समिति सदस्य सूर्य पन्धाक, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, डिपो क्याम्पस प्रमुख राजकुमार राईलगायतले पुरस्कार वितरण गरेका थिए ।
डिपो स्कुललाई यहाँसम्म ल्याइपुरयाउन लामो समय महत्वपूर्ण योगदान दिएका दिवंगत मेजर श्रवणकुमार लिम्बूको सम्मान तथा स्मृतिमा गत सालदेखि विद्यालयस्तरीय बास्केटबल प्रतियोगिताको आयोजनाको सुरुवात गरिएको हो । प्रतियोगिता आयोजनाका लागि डिपो स्कुल र दिवंगत मेजर श्रवणकुमार लिम्बूको परिवारबीच सहकार्य रहेको छ । मेजर श्रवणकुमारले डिपो स्कुल व्यवस्थापन समिति वरिष्ठ सल्लाहकारको रुपमा १५ वर्ष, डिपो सार्वजनिक शैक्षिक गुठी व्यवस्थापन समिति अध्यक्ष १९ वर्ष र व्यवस्थापन समितिको अध्यक्षमा १६ वर्ष लामो समय नेतृत्वमा रही डिपो स्कुल विकासमा योगदान रहेको विद्यालयले जनाएको छ । उनकै पालामा डिपो स्कुलमा प्लस टु र व्याचलर लेवल अध्ययन अध्यापन शुरु भएको थियो ।
उनको कोरोना महामारिको कारण २०७८ साल श्रावण १५ गते निधन भएको थियो । प्रतियोगितामा १४ वटा विद्यायलले सहभागिता जनाएका थिए ।

 

प्रकाशित मिति: फाल्गुन ८ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend