धरानः धरान-९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयका विद्यार्थी पढाइमा जति अब्बल छन्, त्यति नै अतिरिक्त क्रियाकलापमा पनि ।
मङ्गलबार नाच्न जान्नेले नृत्यकला, गाउन जान्नेले गाउनकला देखाइरहेका थिए । यति मात्र होइन बोल्न रुचि भएकाले वक्तृत्वकला, नाटक देखाउनेले नाटक देखाए, कविता लेख्नेले कविता सुनाए ।
विद्यार्थीले मङ्गलबार खुलेरै आफूभित्र लुकेको प्रतिभा प्रदर्शन गरेर खप्पिस देखाउने प्रयास गरेका हुन् । विद्यालयले नृत्य र गायन प्रतियोगिता साथै अन्य प्रतिभा प्रदर्शन गर्ने ‘प्लेटफर्म’ आयोजना गरेको हो । प्रतियोगितात्मक कार्यक्रममा छात्रछात्राले आफूभित्र लुकेको प्रतिभा प्रदर्शन गरेका थिए ।
‘ट्यालेन्ट हन्ट सिजन २’ नाम दिइएको प्रतियोगितामा २५ वटा प्रतिभा प्रदर्शन भएको प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा कक्षा–६ देखि कक्षा–९ सम्मका छात्रछात्राहरुले सहभागिता जनाएका थिए । यसअघि नै प्रतियोगिताबाट ‘वेष्ट’ २५ जना छानिएका थिए । छानिएकामध्येले २५ वटा विधामा प्रतिभा प्रदर्शन गरेका हुन् । कार्यक्रममा विद्यार्थीले नृत्य, गायन, नाटक, कविता, वक्तृत्वकलालगायतका विधामा प्रतिभा प्रदर्शन गरेका थिए ।
कार्यक्रमको सञ्चालन कक्षा–९ की सान्भी अग्रवाल, शिशुहाङ राई, स्वेच्छा आचार्य र मिसनराज खवासले गरेका थिए ।
कार्यक्रमको सुरुवातमा उद्घोषक सान्भी अग्रवालको मनोबाद बाट भएको थियो । उनी स्टेजतर्फ जाँदै गर्दाको डर र उल्लास मिश्रित भावना एउटा आवाजबाट प्रस्तुत भइरहेको थियो, जसलाई दर्शकले उत्साहपूर्वक सुन्दै थिए । स्टेजमा चढिसकेपछिको काउन्टडाउनले कार्यक्रमको सुरुवातलाई नाटकीय बनाएको थियो ।
उनी बोल्दै गर्दा अर्का उदघोषक शिशुहाङ राईले दर्शकदीर्घाबाट हस्तक्षेप गर्दै स्टेजतर्फ गएको दृश्य र संवादले कार्यक्रमप्रति दर्शकको उत्साह गुणात्मकरुपमा बढाएको थियो । कक्षा–८ का विद्यार्थीहरुले प्रस्तुत गरेको नाटकले सबैको मन छोयो । विद्यार्थीहरुले आँखा नझिम्क्याइ एक एक दृश्यलाई कैद गरेका थिए । ‘यस्तो नाटक आजको दिनसम्म हेरेको थिइनँ’, भावुक हुँदै शिक्षक गौतम श्रेष्ठले भने, ‘कस्तो कला हाम्रा विद्यार्थीहरुको ।’ त्यसैगरी बरदान तामाङको नृत्यले सबैको मुटु हल्लायो । उनको नृत्य माइकल ज्याक्सनको जस्तै हुबहु थियो । हरेक दर्शक आफ्नो ठाउँबाट उठेर उनको जादुसरीको प्रस्तुति हेरिरहेका भेटिन्थे । त्यस्तै सभ्यता राई र शिवाङ तामाङको नृत्यले पनि दर्शकलाई खुब नचायो । उत्कृष्ट २५ प्रस्तुतिहरु प्रदर्शन भएको ग्रान्ड फिनाले एक अन्तर्राष्ट्रियस्तरको कार्यक्रम भन्दा फरक थिएन ।
कार्यक्रमको निर्णायकहरुमा नृत्यतर्फ पिङ्की राई, आयुष्मा मगर, गायनतर्फ इनोस थापा मगर र नवराज सुनुवार रहेका थिए ।
पढाइका साथै अतिरिक्त क्रियाकलापअन्तर्गत वर्षेनी यस्तो प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्दै आएको प्रिन्सिपल श्रेष्ठले जानकारी दिए । मानसिक, शारीरिक साथै भावनात्मकरुपमा विकासका लागि विद्यार्थीलाई सन्तुलित र गुणस्तरीय शिक्षा प्रदान गर्न हदैसम्मको कोसिस जारी रहेको समेत उनले बताए । ‘हामीले पठनपाठन जोड दिँदै अतिरिक्त क्रियाकलापका माध्यमबाट विद्यार्थीको प्रतिभा बाहिर निकाल्न हरतरहले लागिरहेका छौं’, उनले थपे ।
प्रिन्सिपल श्रेष्ठले आगामी दिनमा विद्यार्थीका लागि फरक फरक प्रतिभा पस्किने वातावरण मिलाइरहने बताए ।




































