धरानः धरान–१६ स्थित नवोदय बिद्या मन्दिर सेकेन्डरी इङ्लीस बोर्डिङ स्कुलको अभिभावक दिवस विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।
धरान उप–महानगरपालिका शिक्षा महाशाखा प्रमुख गणेश खतिवडा कार्यक्रमका प्रमुख अतिथि थिए ।
आफ्ना छोराछोरीहरुलाई स्कुल पठाएर मात्र जिम्मेवारी पूरा नहुने बताउदै महिनामा एक पटक स्कुलमा आएर नानिहरुको पढाईबारे बुझ्न प्रमुख अतिथि खतिवडाले अभिभावकहरुलाई आग्रह गरे । कार्यक्रममा विद्यार्थीहरुले प्रस्तुत गरेका प्रतिभाको प्रशंसा गर्दै प्रमुख अतिथी खतिवडाले नवोदय विद्या मन्दिरलाई विश्वास गरी आफ्ना छोराछोरी पढ्न पठाएकोमा धन्यवाद ब्यक्त गरे । होटल म्यानेजमेन्टमा यु.एन. नवोदयको नाम कहलिएको बताउँदै प्रमुख अतिथि खतिवडाले यसलाई उच्च राख्न शुभकामना दिए ।
यु.एन. कलेज र नवोदय विद्या मन्दिर स्कुलले धरानको शिक्षा क्षेत्रमा ठूलो योगदान पुरयाएको स्कुलका अध्यक्ष ज्ञानेश्वर झाले बताए । स्कुललाई आजको अवस्थासम्म ल्याउन शिक्षक, शिक्षिकाहरुको ठूलो योगदान रहेको अध्यक्ष झाले बताए । स्कुलका प्रिन्सिपल डम्बरकुमार तुम्बापोले नवोदय विद्या मन्दिर गुणस्तरीय शिक्षा प्रदान गर्न सधै प्रतिबद्ध रहेको बताए । अभिभावक गंगा श्रेष्ठले विद्यालयको पढाइ र अतिरिक्त क्रियाकलापबाट सन्तुष्ट रहेको बताउँदै आउने दिनमा अझै राम्रो गर्दै जान सुझाव दिइन् ।
विभिन्न विधामा वर्षका उत्कृष्ट विद्यार्थीहरुलाई प्रिन्सिपल तुम्बापो, अध्यक्ष झा, पिआरओ राम लिम्बू लगायत कक्षागत शिक्षकहरुले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए । विद्यार्थीहरुले आकर्षक नृत्य, सन्देशमूलक नाटक र गीत प्रस्तुत गरी अभिभावकहरुलाई मनोरञ्जन प्रदान गरे । यसैगरी स्कुलका विद्यार्थीहरुले विभिन्न प्रकारका विज्ञान प्रदर्शनी समेत गरेका थिए । यसै अवसरमा युएन कलेज बिएचएम चौथो सेमेष्टरका विद्यार्थीहरुले युएन फुड फेष्टो अन्तर्गत विभिन्न स्टलमा खानाका परिकार राखेका थिए ।











