धरानः सुनसरीको धरानमा जारी बुढासुब्बा गोल्डकप प्रतियोगिताको २४ औं संस्करणमा मोरङ जिल्ला फुटबल क्लब सेमीफाइनलमा प्रवेश गरेको छ ।
धरान–१६ स्थित रङ्गशालामा आज (सोमबार) भएको दोस्रो क्वाटरफाइनलमा मोरङले विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । पुलिस क्लबलाई ३–० गोलले हराउँदै सहज जीत निकालेको हो ।
७० औं मिनेटमा महेन्द्र कार्की, ७८ औं मिनेटमा उमेश कार्की र इन्जुरी समयमा सुशील राईले गोल गरेका थिए । खेलको म्यान अफ दि म्याद उमेश कार्की नै घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । अब मोरङ र धरान फुटबल क्लबका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।
भोलि (मङ्गलबार) चर्च ब्वाइज युनाइटेड र काकडभिट्टा फुटबल ट्रेनिङ झापाबीच प्रतिस्पर्धा हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।
प्रतियोगितामा बिजेता टोलीले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् । प्रतियोगितामा विदेशीसहित आठ टोली सहभागी छन् ।
