धरानः धरान-तरहरा सडक चाँडो निर्माण गर्न माग गर्दै रिट परेको छ ।
३ वर्ष ९ महिना बितिसक्दासमेत सडक निर्माणको कामले गति नलिँदा दैनिक दुर्घटना बढ्दै गएको, वातावरणीय क्षति भएको र सवारीसाधनको यान्त्रिक क्षति भएको जनाउँदै रिट निवेदन दर्ता भएको हो ।
अधिवक्ता रवीन्द्रकुमार भगतले १५ दिनभित्र कालोपत्र गर्न माग गर्दै उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गरेका हुन् । सडकबाट हजारौंको संख्यामा आवतजावत गर्ने यात्रुले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएकाले रिट हाल्न बाध्य भएको उनले जानकारी दिए ।
प्यासिपिक जेभी इन्जिनियरिङ प्रा.लि., त्यसका सञ्चालक ठाकुरप्रसाद कँडेल, हिमडुङ एण्ड थोकर कन्स्ट्रक्सन प्रा.लि.का प्रमुख बहादुरसिंह लामा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल सरकार मन्त्रिपरिषद् कार्यालय काठमाडौं र जिल्ला प्रशासन कार्यालय सुनसरीविरुद्ध अधिवक्ता भगतले उत्प्रेषणयुक्त परमादेश रिट निवेदन दिएका हुन् । केहीदिनअघिदेखि एकतर्फीरुपमा सो सडकको कालोपत्रे थालिएको छ । कालोपत्रे थालिएपनि सो सडक समयमै सम्पन्न नहुनेमा यात्रुहरुले आशंका गर्दै आएका छन् ।




