Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा हत्या गरेर फालिएकी युवती कक्षा–१२ मा पढ्ने, हत्यामा संलग्न सार्वजनिक गरिँदै

हाम्रो कोशी आवाज
चैत्र ८ २०८०, बिहिबार
धरानमा हत्या गरेर फालिएकी युवती कक्षा–१२ मा पढ्ने, हत्यामा संलग्न सार्वजनिक गरिँदै

धरानः धरान-१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हत्या गरेको अवस्थामा फेला परेकी युवती धरानकै रहेको खुलेको छ ।
उनी धरान-१६ निवासी महेन्द्र श्रेष्ठकी २१ वर्षीया छोरी सुमना श्रेष्ठको भएको प्रहरीले जनाएको छ । बीपी प्रतिष्ठान र डिपोट स्कुलबीचको एकान्त ठाउँमा बुधबार दिउँसो घाँटी रेटेर हत्या गरेको अवस्थामा युवतीको शव फेला परेको थियो ।
‘बुधबार साँझ अभिभावक आएर शवको सनाखत गरेका छन् । हामी थप अनुसन्धान गर्दैछौँ,’ जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नवीनकृष्ण भण्डारीले भने, ‘यो घटनासँग सम्बन्धित थप विवरण हामीपछि सार्वजनिक गर्ने छौं ।’
इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी नवराज मल्लका अनुसार युवती धरानकै एक कलेजमा कक्षा–१२ मा अध्ययनरत थिइन् । ‘उनको हत्या कसरले किन गरयो खुलेको छैन,’ मल्लले भने, ‘हामीले सुष्म ढङ्गले थप अनुसन्धान अघि बढाएका छौैं । मृतक युवतीका अभिभावकले जाहेरी दिइसक्नुभएको छ, हामी त्यस आधारमा क्लु भेट्टाइएका व्यक्तिलाई सार्वजनिक गर्दैछौं ।’
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारीसमेत रहेका डीएसपी भण्डारीका अनुसार घटनामा संलग्न भएको आशंकामा अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन । ‘घटनामा संलग्न चाँडै पक्राउ पर्छन् । यस विषयमा थप विवरण हामी पछि भनौँला,’ उनले भने ।
घटनापछि त्यस क्षेत्रका केही मान्छे फरार छन् । प्रहरीले उनीहरुमाथि अनुसन्धान अघि बढाइएको जनाएको छ । बुधबार दिउँसो साढे २ बजेतिर एकजना महिलाले बाख्रा चराउने क्रममा युवतीको शव देखेकी थिइन्। सडक छेउको खोल्सामा घोप्टो परेको अवस्थामा शव भेटिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। प्रहरीले शवभन्दा केही मिटर पर खुकुरी पनि फेला पारिएको जनाएको छ ।
युवतीको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

प्रकाशित मिति: चैत्र ८ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend