धरानः धरान–१ स्थित धरान आदर्श बोर्डिङ सेकेण्डरी स्कुलको ५५ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
धरान उमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता स्कुलकी अध्यक्ष सुनिता नेउपानेले गरेकी थिइन् ।
कार्यक्रममा बोल्दै मेयर साम्पाङले लामो इतिहास बोकेको धरान आदर्शले लाखौं विद्यार्थी उत्पादन गरिसकेको र शैक्षिक क्षेत्रमा योगदान दिएको बताए । उनले विद्यालयको नाम नै आफूलाई मन परेको बताउँदै उच्च आदर्शका साथ सबैजना लागिरहेको बताए । उनले विद्यार्थीलाई आदर्शवान र रचनात्मक कार्यमा लाग्न पनि सुझाए । उनले प्राविधिक पक्षमा विद्यालय अब्बल रहेको समेत बताए ।
उनले धरान शैक्षिक क्रियाकलापमा अघि रहेको समेत बताए । उनले श्रम नगरेर देश बिग्रिएको बताउँदै विद्यालयमा श्रमलाई जोड्न सोहीखालको पाठ्यपुस्तक तयार हुँदै गरेको समेत जानकारी दिए । ‘देश विकासका लागि श्रमदानको महत्व’ शीर्षकमा पाठ्यपुस्तक तयार गरिने उनले जानकारी दिए । उनले माटो नछोइ उत्पादन हुननसक्ने बताउँदै आफूले श्रमदानमार्फत् उत्पादनमा जोड दिँदै आएको बताए । उनले टिनएजमा प्रवेश गरेका विद्यार्थीले लागूऔषधजस्तो कुलतबाट जोगिनुपर्नेमा समेत जोड दिए ।
स्कुलका प्रिन्सिपल लोकेन्द्र श्रेष्ठले धरान आदर्शले व्यवहारिक शिक्षामा जोड दिँदै गएको बताए । उनले विद्यालयले पठनपाठनको साथसाथै अतिरिक्त क्रियाकलापमा पनि सक्दो जोड दिँदै गएको र विद्यार्थीले पनि पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि खरो उत्रिँदै जित्दै आएको बताए ।
स्वागत मन्तव्य व्यक्त गर्दै एकेडेमिक डाइरेक्टर, संस्थागत शेयर होल्डर डा. मोहनकुमार पोख्रेलले धरान आदर्शले व्यवहारिक शिक्षामा जोड दिँदै गएको बताए । उनले विद्यार्थी, अभिभावक साथै शिक्षकहरुको पनि मिहिनेतका कारण धरान आदर्शले सफलता हासिल गर्दै आएको बताए ।
कार्यक्रममा विद्यार्थीले विज्ञान प्रदर्शनी समेत आयोजना गरेका थिए । मेयर साम्पाङले सो प्रदर्शनीको अवलोकन समेत गरेका थिए । विद्यार्थीले रोबट, साना कारलगायत अन्य विज्ञानसँग सम्बन्धित प्रदर्शन गरेका थिए ।
कार्यक्रममा गत वर्षको वार्षिक परीक्षामा पहिलो, दोश्रो र तेश्रो भएका नर्सरी देखि कक्षा–९ सम्मका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको प्रिन्सिपल श्रेष्ठले जानकारी दिए । अध्यक्ष सुनिता नेउपाने, प्रिन्सिपल श्रेष्ठ लगायतले पुरस्कृत विद्यार्थीहरुलाई मेडल र प्रमाण–पत्र वितरण गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले आकर्षक गीत र नृत्य प्रस्तुत गरी अभिभावकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा शिक्षक–शिक्षिकाहरुले समेत आकर्षक नृत्य प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले कराँते प्रदर्शनी समेत गरे । कार्यक्रममा स्कुलका कोअर्डिनेटर दिलीप चौधरी, सहायक कोअर्डिनेटर सुशील घिमिरे, फाइनान्स डाइरेक्टर फडिन्द्र थापा लगायतको उपस्थिति थियो । कार्यक्रममा त्रिविबाट विद्यावारिधी उपाधिद्वारा विभिूषित एकेडेमिक डाइरेक्टर, डा. पोख्रेललाई सम्मान समेत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि मेयर साम्पाङले उनलाई दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका थिए ।

























