धरानः धरानको चर्चित स्कुल विष्णु मेमोरियल माध्यमिक विद्यालयका प्रिन्सिपल निलमकुमार श्रेष्ठ मित्र राष्ट्र भारतको विभिन्न प्रमुख सहरहरूमा अप्रिल ७ देखि १३ सम्म आयोजना हुने ‘एजुकेशनल लिडर डेलिगेट्स मिट २०२४’ मा सहभागी हुन छनौट भएका छन् ।
आइ एजुकेशनलाइज, सिम्बियोसिस विश्वविद्यालय, एलांस विश्वविद्यालय र गीतम विश्वविद्यालयले संयुक्तरुपमा आयोजना गर्ने सो कार्यक्रम भारतको ब्यान्ग्लोर, हैजरावाद, विशाखापटनम र पुनामा आयोजना हुने छ ।
कार्यक्रममा नेपालका विविध उत्कृष्ट विद्यालयबाट छनौट भएका जम्मा १३ जना प्रिन्सिपलहरूको सहभागिता रहनेछ भने धरानबाट विष्णु मेमोरियल विद्यालयका प्रिन्सिपल श्रेष्ठसहित सिबीएइ बोर्डद्वारा बीपी कोइराल विज्ञान प्रतिष्ठानको हाताभित्र सञ्चालित दिल्ली पब्लिक स्कुलका प्रिन्सिपल पी. के. शंकरालिंगम पनि सहभागी हुने छन् । सो अवधिमा सो स्थानमा रहेका प्रख्यात विद्यालय र कलेजको स्थलगत अध्ययन भ्रमण, प्राध्यापक तथा शिक्षाविधहरूसँग शैक्षिक अन्तरक्रिया, सेमिनार, तालिम तथा विभिन्न विषयहरूमा कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम रहेको प्रिन्सिपल श्रेष्ठले जानकारी दिए । उनी त्यसका लागि सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् ।
प्रिन्सिपल श्रेष्ठले केही महिना अघि शैक्षिक नेतृत्व तथा व्यवस्थापनमा उल्लेख्य कार्य गरेबापत ‘एशिया अवार्ड्स’ प्राप्त गरेका थिए । सो अवार्ड्सको ‘उत्कृष्ट शैक्षिक नेतृत्व पुरस्कार’ विधातर्फ उनले उक्त पुरस्कार प्राप्त गरेका हुन् । एशिया अवार्ड विभिन्न क्षेत्र वा पक्षहरूमा उत्कृष्टताप्रति प्रतिबद्धताका लागि वल्र्ड रिसर्च कग्रेस (डब्लुआरसी) द्वारा विभिन्न देशका व्यक्ति वा संस्थालाई दिइने अन्तराष्ट्रियस्तरको सम्मान हो ।
