Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको विष्णु स्कुलमा फेरि अर्को अत्याधुनिक भवन, स्वीमिङ पुल र फुटसल बन्ने (भिडियो अन्तर्वार्तासहित)

हाम्रो कोशी आवाज
चैत्र २९ २०८०, बिहिबार
धरानको विष्णु स्कुलमा फेरि अर्को अत्याधुनिक भवन, स्वीमिङ पुल र फुटसल बन्ने (भिडियो अन्तर्वार्तासहित)

गुणस्तरीय शिक्षा र अनुशासनमा जोड

धरानः धरान-९ स्थित चर्चित स्कुल विष्णु मेमोरियल माध्यमिक विद्यालयले फेरि अर्को आधुनिक भवन निर्माण गर्ने भएको छ ।
जग्गा विस्तार गर्दै अति अत्याधुनिक भूकम्प प्रतिरोधी भवन निर्माण साथै स्वीमिङ पुल र फुटसल निर्माण गरिने संस्थापक अध्यक्ष वेनिन्द्र कट्वालले जानकारी दिए । ‘जग्गा विस्तार गरेर अति आधुनिक भवन बनाएर त्यसैमा फुटसल, स्वीमिङ पुल चाँडै बनाइनेछ’, उनले अन्तर्वार्ताका क्रममा भने । उनले यसका लागि जग्गाको बैना समेत गरिसकेको जानकारी दिए ।
विष्णु छुट्टै पहिचान बनाउँदै अघि बढेको स्कुल हो । ‘गुणस्तरीय शिक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारालाई आत्मसात् गर्दै २०४६ सालमा स्थापना भएर अघि बढेको यो स्कुलमा वि.सं. २०५६ सालदेखि निम्न माध्यमिक तह, २०५९ सालदेखि माध्यमिक र २०६५ सालदेखि उच्च माध्यमिक तहसम्मको पढाइ सञ्चालन भइरहेको छ । २५ जना विद्यार्थीबाट शुरु भएको विद्यालयमा २५ वर्षको अन्तरालमा लगभग १३ सयको हाराहारीमा विद्यार्थी अध्ययनरत् छन् ।

नेपाल सरकार शिक्षा मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख भएअनुसार मुलुकमा सञ्चालित निजी शिक्षण संस्थाहरुमध्ये ११ औं स्थानमा पर्न सफल हुनु तथा प्रवेशिका एवम् उच्च माध्यमिक तहमा कोशी प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न निरन्तर सफल हुनुले पनि यस विद्यालयको गुणस्तरीयता निर्धारण भएको पुष्टि हुन्छ ।
‘हाम्रा विद्यार्थी एसइईमा १८ पटक सहभागी भए, १८ पटक नै शतप्रतिशत नतिजा निकाल्न विद्यार्थी सफल भएका छन्’, प्रधानाध्यापक कटुवाल भन्छन्, ‘शुरुका २ वर्षचाहिँ जिल्ला प्रथम साथै सर्वोत्कृष्ट नतिजा निस्कियो ।’ दक्ष शिक्षक–शिक्षिका, परिश्रमी विद्यार्थी र अभिभावकको सहयोगले राम्रो नतिजा निकाल्न सफल भएको संस्थापक अध्यक्ष कट्वाल बताउँछन् ।

यो विद्यालयले जति सक्छौ, त्यति मात्रै भर्ना लेऊ । गुणस्तरमा सम्झौता नगर भन्ने नीतिबाट निर्देशित हुँदै आएको छ । भौतिक पूर्वाधार, शिक्षकको उपलब्धता र व्यवस्थापकीय सीमालाई ख्यालै नगरी विद्यार्थी हुल्ने परम्पराको विरोधीको रुपमा आपूmलाई उभ्याएको छ विष्णुले । गुणस्तरमा आपूmहरुले सम्झौता नगर्ने उनी बताउँछन् । ‘एसएलसीको कुरा गर्ने हो भने हामी ६० सालदेखि नै शतप्रतिशत रिजल्ट निकाल्न सफल भयौं’, उनले भने, ‘एकपल्ट राम्रो नतिजा आयो भनेर विद्यार्थी ह्वात्तै बढाएनौं ।’ संस्थापक अध्यक्ष कटुवालले पैसा कमाउनकै लागि ‘क्वान्टिटी’ रोज्दा हुने भए पनि आपूmहरुले ‘क्वान्टिटी’ मा कहिल्यै जोड नदिएको बरु ‘क्वालिटी’ लाई रोजेको बताउँछन् । ‘क्वालिटीलाई नै जोड दिँदै लग्यौं ।’ उनले भने, ‘त्यही कारण विद्यार्थीले सफलता प्राप्त गरिरहेका छन् ।’ २०६५ सालमा प्लस टुको अध्ययन–अध्यापन थालिएको विष्णुमा ९५ प्रतिशतभन्दा कम नतिजा छैन ।
नियमित शिक्षक बैठक र तालिम हुन्छ । पहिलो त्रैमासिक परीक्षको नतिजाका आधारमा विद्यार्थीको शैक्षिकस्तर मापन गरिन्छ र कमजोर विद्यार्थीलाई विशेष ध्यान दिइन्छ । नियमित रुपमा परीक्षा, मूल्याङ्कन र कक्षा सञ्चालनको सुपरीवेक्षणले शिक्षक र विद्यार्थीलाई हरेक पाइलामा सतर्क गराइरहेको हुन्छ । विष्णुको उत्कृष्ट नतिजाका प्रमुख आधार हुन् यी ।
विष्णुले नैतिक र कर्तव्यनिष्ठ नागरिक तयार गर्ने उद्देश्यबाट सञ्चालित छ । अनुशासनकै कारण उत्कृष्ट नतिजा र गुणस्तरीय शिक्षा कायम भएको उनको विश्वास छ । ‘अनुशासन भएन भने विद्यार्थीहरुले प्रगति गर्न सक्दैनन्, हामीले अनुशासनलाई पहिलो प्राथमिकतामा राखेका छौं’, प्रधानाध्यापक निलमकुमार श्रेष्ठ भन्छन्, ‘पहिलो हाम्रो पहिचान भनेको गुणस्तरीयता हो, साथै अनुशासनलाई हामीले दोस्रो पहिचानको रुपमा लिएका छौं । अनुशासनमा विशेष जोड दिन्छौं ।’

पूर्वाञ्चलस्तरीय आधुनिक विज्ञान प्रयोगशाला र सुविधासम्पन्न पुस्तकालय, स्तरीय कम्प्युटर ल्याब, स्कुल बस, खेलकुद सामग्री, लाखौं रुपैयाँका खानेपानी फिल्टर, शौचालय यस विद्यलयका अन्य आकर्षण तथा विशेषता हुन् । यस्तै, विद्यालयका विद्यार्थीले मासिकरुपमा विष्णु दर्पण नामक पत्रिका पनि प्रकाशन गर्दै आइरहेको छ ।
योग्य जनशक्ति निर्माण गर्दै आइरहेको विष्णुबाट एसएलसी वा प्लस टु गरेका विद्यार्थीहरु देश–विदेशसम्म छरिएर रहेका छन् । कोही दक्ष भएर निस्किसके भने कोही अध्ययनरत् छन् । कसैले चिकित्सा (डाक्टर, नर्स) त कसैले कृषि, इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, चाटर्ड एकाउन्टेन्ट क्षेत्रमा हात हालेका छन् ।
शिक्षकलाई वक्ता र विद्यार्थीलाई स्रोताका रुपमा होइन, दुवैको सहकार्यबाट मात्रै गुणस्तरीय पढाइ सम्भव हुने उनको ठम्याइ छ । त्यसैले यहाँ प्रयोगात्मक शैक्षिक विधिलाई प्रमुख रुपमा अपनाउने गरिएको छ । उनका अनुसार शिक्षक र विद्यार्थीको सहकार्यमा पढाइ गर्ने पद्धति नै गुणस्तरीय नतिजाको पहिलो शर्त हो ।

विष्णुले पाठ्यक्रम केन्द्रित शैक्षिक गतिविधिका साथै अतिरिक्त क्रियाकलापको महत्व बुझेर यसमा जोड दिँदै आएको छ । विष्णुले प्रत्येक शुक्रबार विभिन्न अतिरिक्त क्रियाकलाप, विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । १२ जना विषय प्रशिक्षक राखेर निःशुल्क अतिरिक्त क्रियाकलाप गराउँदै आएको उनले जानकारी दिए । ‘परम्परागत किताबको किरो हुने, रटन्ते, घोकन्ते पुरानो परिपाटी त्याग्नुपर्छ भन्ने हाम्रो जोड हो’, प्रिन्सिपल श्रेष्ठ भन्छन्, ‘यस उमाविमा विद्यार्थीलाई किताबी कीरो मात्रै होइन, अतिरिक्त ज्ञान र व्यावसायिक क्षेत्रमा पनि खरो उत्रिन अभिमुखीकरण गरिन्छ, यसका लागि विषयविज्ञ नै नियुक्त गरेर लागिपरेका छौं ।’ यही कारणले पनि विद्यार्थीहरुले कुनै प्रतियोगिता वा कार्यक्रममा हुने गरेको अतिरिक्त क्रियाकलापमा हारेका छैनन् । ‘अहिलेसम्म धेरैपटक विद्यार्थीले अतिरिक्त क्रियाकलाप (फुटबल, भलिबल, फुटसल, वक्तृत्वकला, वादविवाद, गीत–संगीत, नृत्य, साहित्य आदि) मा हारेका छैनन्’, प्रिन्सिपल श्रेष्ठ भन्छन्, ‘जुन कार्यक्रममा भाग लिए पनि १-२ वटा पुरस्कार लिएर आएकै हुन्छन् ।’

विद्यार्थीको प्रगतिप्रति अभिभावकलाई पनि उत्तिकै जिम्मेवार बनाउनुपर्ने भएकाले विद्यालय–अभिभावकको निरन्तर सम्पर्क र सम्बन्धमा जोड दिने गरेको उनी बताउँछन् । प्रिन्सिपल श्रेष्ठले अन्त्यमा भने, ‘विविध उतारचढावका साथ शैक्षिक जनशक्ति निर्माण गर्दै हामीले जुन उचाइँ प्राप्त गरेका छौं, त्यसको श्रेय आदरणीय अभिभावक, शिक्षक, विद्यार्थी एवम् समाजका सबै पेशामा आबद्ध सचेत समुदायलाई जान्छ ।’ उनी दक्ष शिक्षक–शिक्षिकाका लागि सुविधामा कन्जुस्याइँ नगरी सरकारी सेवा–सुविधा प्रदान गरेको बताउँछन् । ‘हामी गुणस्तरीय शिक्षा प्रदान गर्न हिच्किचाएका छैनौं, त्यसमा शिक्षक–शिक्षिकाहरुलाई सुविधा दिन पनि कन्जुस्याइँ गरेका छैनौं । हामीले सरकारीसरहको सुविधा दिँदै आएका छौं’, उनले भने, ‘अनि मात्रै शिक्षक–शिक्षिका टिक्छन् र गुणस्तरीय शिक्षा वर्षौवर्षसम्म कायम रहन्छ ।’

 

प्रकाशित मिति: चैत्र २९ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend