धरान- धरानमा सम्पन्न बुढासुब्वा गोल्डकपको २४ औं संस्करणमा १७ लाख रुपैयाँ भन्दाबढी नाफा भएको छ ।
गोल्डकप आयोजक तथा धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले फाल्गुन २६ देखि चैत्र ३ गतेसम्म आयोजित गोल्डकपमा १७ लाख २८ हजार ९ सय ८५ रुपैयाँ नाफा गरेको बताएका छन् ।
अध्यक्ष तामाङले बचत भएको रकममा प्रदेश सरकारले प्रदान गर्ने १५ लाख रुपैयाँ नजोडिएको बताए । उनले करिब २५ लाख रुपैयाँ बेलायत, हङकङ, अष्ट्रेलिया, युएई, मकाउ, अमेरिकालगायतबाट संकलन भएको जानकारी दिए ।
आर्थिक संयोजक घनश्याम बुढाथोकीका अनुसार गेट टिकटबाट १२ लाख ८८ हजार रुपैयाँ संकलन भएको बताए । खेल हेर्न पास वितरण नगरिँदा दर्शकबाट राम्रो साथ पाएको उनले बताए ।
त्यसैगरी, उनले धरान उपमहानगरबाट ९ लाख, धरानका विभिन्न वडाबाट ८ लाख, धरान हङकङ मञ्चलगायतबाट ६ लाख १० हजार, विभिन्न सरकारी तथा गैह्रसरकारी, उच्च पदस्त ब्यक्तित्व, वित्तीय संस्थालगायतबाट ६ लाख १० हजार संकलन भएको बताए ।
आर्थिक समिति संयोजक बुढाथोकीले टोली ब्यवस्थापनमा २० लाख, पुरस्कारमा १८ लाख ४० हजार रुपैयाँ खर्च भएको उल्लेख गरे ।
प्रचारप्रसार ४ लाख ३३ हजार खर्च भएको बताएका बुढाथोकीले मैदान ब्यवस्थापनमा ४ लाख ७६ हजार रुपैयाँ खर्चिएको प्रस्टाए ।