Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको विष्णु स्कुलका विद्यार्थीलाई ट्राफिक नियम सिकाउँदै प्रहरी, स्कुलमै पुगेर सचेतना कक्षा (५३ तस्वीर र भिडियोसहित)

हाम्रो कोशी आवाज
असार ९ २०८१, शनिबार
धरानको विष्णु स्कुलका विद्यार्थीलाई ट्राफिक नियम सिकाउँदै प्रहरी, स्कुलमै पुगेर सचेतना कक्षा (५३ तस्वीर र भिडियोसहित)

धरानः धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयमै ट्राफिक प्रहरी प्रमुख समेत पुगेर ट्राफिक प्रहरीले ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कक्षा सञ्चालन गरेको छ ।
कक्षा–६ देखि १० कक्षासम्म पढ्ने विद्यार्थीलाई ट्राफिक नियमसम्बन्धी जनचेतना कक्षा सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरान सुनसरीका प्रमुख सभाष केसीले जानकारी दिए । विशेषगरी स्कुल, कलेज पढ्ने विद्यार्थीहरू र अभिभावकहरूलाई ट्राफिक नियमको पालनाबारे जानकारी दिँदा प्रभावकारी हुने ठानेर यस्तो कक्षा सञ्चालन गरिएको उनले जानकारी दिए ।
कार्यक्रममा प्रमुख केसी र प्रहरी सहायक निरीक्षक नारदप्रसाद दाहालले विद्यार्थीहरूलाई प्रशिक्षण दिएका थिए । यस्ता खालका जनचेतनामूलक कार्यक्रम विगतदेखि गरिँदै आएको र आगामी दिनमा पनि राखिने स्कुलका प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए । ट्राफिक नियमसम्बन्धी जानकारी दिन र सबैले ट्राफिक सम्बन्धी जानकारी पाउन भन्ने उद्देश्यले आफूहरूले यस्तो सचेतना कार्यक्रम आयोजना गरिएको उनले बताए । सचेतना कक्षामा बाटोमा हिँड्दा र बाटो काट्दा ध्यान पुरयाउनुपर्ने कुरा एवं सडक सुरक्षा, ट्राफिक नियमसम्बन्धी सबै जानकारी दिइएको थियो ।
बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक सचेतना अभियानलाई तीब्रता दिएको प्रहरी सहायक निरीक्षक नारदप्रसाद दाहालले जानकारी दिए । उनले पनि विद्यार्थीहरुलाई ट्राफिक चिह्न, दुर्घटनाका कारण र न्यूनीकरणका उपायबारे जानकारी दिएका थिए । ‘करिब ६० प्रतिशत सवारी दुर्घटना मानवीय कारणले हुन्छन्’, उनले भने, ‘यसलाई हामी आफैंले न्यूनीकरण गर्न सक्छौं ।’
चालक तथा पैदलयात्रीको लापरबाहीका कारण धेरैजसो दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको तथ्यांकले देखाउँछ । त्यसैगरी दुर्घटनाको दोस्रो कारणमा यान्त्रिक गडबढी देखिने गरेको उनले बताए । ‘त्यस्तो कारण १० प्रतिशत हाराहारीमा हुन्छन्’ उनले भने, ‘एक्कासी टायर पडकिने, ब्रेक फेल हुने जस्ता कारणले पनि दुर्घटना हुनसक्छन् ।” प्रशिक्षणका क्रममा उनले किशोर किशोरीलाई सडक किनारामा हिँड्दा वा बाटो काट्दा अपनाउनुपर्ने सावधानीबारे सिकाएका थिए । ‘पहिले रोकिनुस्, चारैतिर हेर्नुस्, एकछिन हेर्नुस् अनि मात्रै बाटो काट्नुस्’, उनले सुझाए, ‘सडक किनारामा हिँड्दा पनि कमिलाको शैलीमा एकै लाइनमा हिँड्नुस् ।’
सो क्रममा उनले सूचनामूलक चेतावनीमूलक र आदेशमूलक ट्राफिक चिहनहरु विद्यार्थीलाई चिनाएका थिए । कार्यक्रममा उपस्थित विद्यार्थीहरुले कार्यक्रमबाट ट्राफिक नियमबारे धेरै कुरा जान्न पाएको प्रतिक्रिया दिए । ट्राफिक प्रमुख केसीले विद्यार्थी अति नै उत्सुक हुने र उनीहरुको माध्यमबाट अभिभावक, टोल र समाज पूरैलाई सिकाउन सकिने भएकोले विद्यालय केन्द्रित कार्यक्रम गरिएको बताए । ‘विद्यार्थी समाजको वास्तविक प्रतिनिधि हुन्’, उनले भने, ‘उनीहरूमार्फत् समाजलाई धेरै कुरा सिकाउन सकिन्छ ।’
स्कुलका सहायक प्रिन्सिपल कृष्णप्रसाद पौडेलले ट्राफिक सचेतना कार्यक्रम विद्यालयमा निकै उपलब्धीमूलक भएको बताए । ‘विगतमा पनि ट्राफिक प्रहरीले गरेका कार्यक्रम उपलब्धीमूलक थिए’, उनले भने, “विद्यालयमा सिकेको भन्दा ट्राफिक आफै उपस्थित भएर सिकाएको सिकाइ बढी उपयोगी देखिएका छन् ।’
सचेतनाको अभावले गर्दा ट्राफिक दुर्घटना बढेको प्रहरीको समेत निष्कर्ष छ ।

प्रकाशित मिति: असार ९ २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend