धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सहरूले बोल्नेकला सिकेका छन् ।
कार्यक्रम उदघोषण, भाषण गर्नेदेखि लिएर बिरामी तथा उनीहरुको अभिभावकहरुसँग परामर्श प्रदान गर्न पनि सहज हुने उद्देश्यले यस्तो कलाको तालिम लिएका हुन् । नर्सिङ एशोशियसन अफ नेपाल, बीपीकेआइएचएस युनिटको सहकार्य र आइडिया इन्टरनेशनलको संयुक्त अयाोजनामा तालिम सम्पन्न भएको हो । धरान–१२ स्थित होटल पूर्वी स्टारमा सम्पन्न भएको तालिममा बीपी अस्पतालका ४१ जना नर्सहरुले भाग लिएका थिए । तालिमको सहजीकरण प्रशिक्षक मोहन श्रेष्ठले गरेका थिए । शनिबार बिहान ८ बजेदेखि बेलुकी ६ सम्म सञ्चालित एक दिवसीय तालिममा वाककलासम्बन्धी विविध विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।
सधैं बिरामीहरुको सेवाका लागि ड्यूटीमा खटिरहने नर्सहरुले बोल्ने कला सिकिरहँदा उनीहरुको व्यक्तिगत क्षमता अभिवृद्धि भएको नर्सिङ एशोशियसन अफ नेपाल, बीपीकेआइएचएस युनिटकी अध्यक्ष कला थापाले बताइन् । तालिमको आयोजना गरी छोटो समयमा सहभागीले प्रयोगात्मक तरिकाबाट धेरै कुरा सिक्न सकेको आइडिया इन्टरनेशलनका अध्यक्ष विष्णु बरालले बताए । नर्सहरुको वृद्धि र विकासका लागि विभिन्न क्षमता विकासका कार्यक्रमहरू स१चालन गर्ने एशोसियशनका सचिव उषा चौधरीले बताइन् ।
कार्यक्रममा सहभागीहरूलाई सहभागितामूलक तरिकाबाट प्रमाण पत्र पत्र वितरण गरिएको थियो ।



