धरानः धरानको चर्चित स्कुल धरान-९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा-१० को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) मा दुर्लभ नतिजा ल्याएको छ ।
इतिहासमै पहिलोपल्ट विद्यालयबाट एकजना परीक्षार्थीले ४ जीपीए ल्याएका छन् । देशभरबाट १८६ जना विद्यार्थीले ४ जीपीए ल्याएकोमा विष्णुका एकजना परीक्षार्थी छात्राले यस्तो दुर्लभ नतिजा ल्याएका हुन् । २०८० सालको एसईई परीक्षामा विद्यालयबाट सहभागी भएकी गृष्मा लुइटेलले ४ जीपीए नतिजा ल्याउन सफल भएकी हुन् ।
१४२ जना परीक्षार्थी सामेल भएको यस विद्यालयबाट ३.६१–४.०० जीपीए (ए प्लस) सहित ९० जना, ३.२१–३.६ जीपीए (ए) सहित ४५ जना र २.८१–३.२ जीपीए (बि प्लस) सहित ६ जना विद्यार्थी उत्तीर्ण भएको प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए ।
अघिल्ला वर्षहरूमा पनि विष्णुले एसईईमा सुखद् नतिजा हासिल गर्दै शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै आएको थियो । यस वर्षको नतिजा भने इतिहासमै पहिलोपल्टै अहिलेसम्मकै उत्कृष्ट हो । ‘हामीले अधिकांश विद्यार्थीको ए प्लस नतिजाको अपेक्षा गरेका थियौं । तर देशभरमा समेट्ने गरी एकजना छात्राले ४ जीपीए नतिजा निकाल्न सफल भइन्, हामीले सोचेभन्दा पनि राम्रो नतिजा आएको हामीले महसुस गरेका छौं ।’
२०५९ सालदेखि एसएलसी हुँदै एसईईसम्म आइपुग्दा यो इतिहासमै पहिलोपल्ट उत्कृष्ट नतिजा भएको संस्थापक अध्यक्ष वेनिन्द्र कटुवालले जानकारी दिए । ‘एसएलसी हुँदै एसईईमा विद्यार्थी सहभागी भएको यो २१ औं ब्याच हो’, उनले भने, ‘यतिका वर्षसम्म पनि हाम्रो नतिजा उत्कृष्ट नै हो तर पनि यो इतिहासमै सर्वोत्कृष्ट नतिजाका रुपमा लिएका छौं ।’ उनले दक्ष शिक्षक–शिक्षिकाको समर्पण, परिश्रमी विद्यार्थी र अभिभावकको सहयोगले सर्वोत्कृष्ट नतिजा निकाल्न सम्भव भएको समेत बताए ।
विष्णु छुट्टै पहिचान बनाउँदै अघि बढेको स्कुल हो । ‘गुणस्तरीय शिक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारालाई आत्मसात् गर्दै २०४६ सालमा स्थापना भएर अघि बढेको यो स्कुलमा वि.सं. २०५६ सालदेखि निम्न माध्यमिक तह, २०५९ सालदेखि माध्यमिक र २०६५ सालदेखि उच्च माध्यमिक तहसम्मको पढाइ सञ्चालन भइरहेको छ । धरानमा नाम चलेको र देशभरीका स्कुलमध्ये टप २० सम्ममा पर्न सफल विष्णुले यसअघि पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै अभिभावक, विद्यार्थीको मन जित्दै आएको छ ।
२०६५ सालमा प्लस टुको अध्ययन-अध्यापन थालिएको विष्णुमा ९५ प्रतिशतभन्दा कम नतिजा छैन । नेपाल सरकार शिक्षा मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख भएअनुसार मुलुकमा सञ्चालित निजी शिक्षण संस्थाहरुमध्ये ११ औं स्थानमा पर्न सफल हुँदै प्रवेशिका एवम् उच्च माध्यमिक तहमा कोशी प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न निरन्तर सफल भएको छ । यसैले पनि यस विद्यालयको गुणस्तरीयता निर्धारण भएको पुष्टि हुन्छ ।
