Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा कांग्रेस विरुवा वितरण गर्न घरघरमा, डेङ्गुका बिरामीहरुलाई सिटामोल वितरण

हाम्रो कोशी आवाज
साउन १० २०८१, बिहिबार
धरानमा कांग्रेस विरुवा वितरण गर्न घरघरमा, डेङ्गुका बिरामीहरुलाई सिटामोल वितरण

धरानः नेपाली कांग्रेसले ग्रीन एण्ड क्लीन धरान अभियान लिएर घरदैलो शुरु गरेको छ । कांग्रेसले ४२ औं बीपी स्मृति दिवसको अवसर पारेर सञ्चालन गरेको अभियान मार्फत घरदैलो गरेको हो । धरान–१९ बाट शुरु भएको अभियानसँगै गरिएको घरदैलोमा कागती, अम्बक, सरिफा, वेल, अमला, तेजपत्तालगायतका विभिन्न जातका फलफूलका विरुवाहरु वितरण गरिएको छ । अभियानको क्रममा सडक सरसफाई र डेङ्गु लार्भा नष्ट तथा डेङ्गुसम्बन्धी सचेतना पर्चा वितरण गरिनुका साथै डेङ्गु बिरामीहरुलाई सिटामोल र जीवन जल समेत वितरण गरिएको छ ।
नेपाली कांग्रेसका सुनसरी जिल्ला सचिव माधव घिसिङले अभियानको उद्घाटन गर्दै अभियान अत्यन्तै उत्कृष्ट र जनमुखी भएको बताएका छन् । उनले यस्ता अभियानले जनताको मन जित्ने हुँदा अभियानको पूर्ण सफलताको कामना गर्दै आयोजक क्षेत्रीय समितिको उच्च प्रशंसा समेत गरेका छन् ।
अभियानका संयोजक एवम् नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले गत वर्ष पनि गरिएको यो अभियान जनप्रिय र प्रभावकारी भएकाले गत वर्ष पुग्न नसकिएका धरानका टोल वस्तीहरुका लागि पुनः अभियान सञ्चालन गरिएको बताए । यस अभियानमार्फत जनताको घरघरमा पुगिने हुँदा जनतासँग साक्षात्कार भई पार्टी र जनताबीचको सम्बन्ध सुदृढ हुनका साथै हरियाली प्रर्वद्धन, सरसफाइ र डेङ्गु रोगबारे सचेतना अभिवृद्धि समेत हुने हुँदा आम जनतामा र स्थानीय वातावरण तथा पर्यावरणमा सकारात्मक प्रभाव पर्ने सभापति तामाङले बताए । क्षेत्रीय सभापति तामाङका अनुसार धरानका १, ५, ६, ८, १०, ११, १४, १५, १६, १७, १८ र १९ नं. वडाहरुमा अभियान सञ्चालन गरिने भएको छ ।
घरमै आएर जीवनपयोगी विरुवा, औषधि, जनचेतनामूलक पर्चा वितरण र सडक सरसफाई समेत गरेको भन्दै वडावासीहरुले अभियान रचनात्मक र प्रशंसा गर्न लायक भएको बताउँदै अभियानलाई रुचाउनुका साथै नेपाली कांग्रेसलाई धन्यवाद प्रकट गरेका छन् ।
नेपाली कांग्रेस सुनसरीको १ नं. प्रतिनिधिसभा क्षेत्र कार्यसमितिको आयोजना तथा धरान नगर समिति, प्रदेशसभा १ (१) र १ (२) समितिको संयोजन र नेपाल महिला संघ, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलको सहकार्य एवम् सम्बन्धित वडा कार्यसमितिको स्थानीय व्यवस्थापनमा ग्रीन एण्ड क्लीन धरान अभियान गरिएको क्षेत्रीय सहसचिव सुमित राईले बताएका छन् ।
अभियानमा डेङ्गु बिरामीलाई औषधि वितरण गरिनुका साथै न्यूनतम् एक घर एक विरुवा वितरण गरेर ग्रीन धरान बनाउने र सडक सरसफाई, डेङ्गुको लार्भा नष्ट तथा डेङ्गु सम्बन्धी सचेतना पर्चा वितरण गरेर क्लीन धरान बनाउने कार्य भइरहेको उनले बताए । अभियान भदौ १ गतेसम्म सञ्चालन हुने बताइएको छ ।
अभियानमा नेपाली कांग्रेस पार्टी र भातृ एवम् शुभेच्छुक संघसंस्थाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: साउन १० २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend