धरानः धरानमा बोलबम शुरु भएको तेस्रो हप्ता भइसकेको छ । तेस्रो हप्ता पनि सदाको झैं बोलबम भक्तजनको भीड नै लागेको छ । धरान-१४ स्थित पिण्डेश्वर मन्दिर (पिण्डेश्वर बाबाधाम) मा बोलबममा पूजा तथा दर्शन गर्ने श्रदालु भक्तजनहरुको बिहानैदेखि घुइँचो लागेको छ ।
पिण्डेश्वर बाबाधाम मन्दिरमा जल चढाउन भक्तजनहरुले आइतबार नै चतरास्थित सप्तकोसी नदीबाट जल ल्याइ आइतबार बिहानैदेखि लामबद्ध बनेका थिए । नदीको पानी ल्याएर पिण्डेश्वर बाबाधाममा चल चढाउने गरिन्छ ।
विगतको वर्षभन्दा यस वर्ष भक्तजन बढ्ने अपेक्षा पिण्डेश्वर बाबाधाम समितिले गरेको बाबाधाम समितिका अध्यक्ष विकास बनेपालीले जानकारी दिए । मन्दिरको अघिल्तिर निःशुल्क पानी, निःशुल्क फलफूल, खाजा, नास्ता वितरण गरिने गरिएको छ । यस्तै, भक्तजनहरुका लागि प्राथमिक उपचारको व्यवस्था समेत गरिएको छ ।
गत वर्ष साउन महिनाको चार सोमबारमा ३ लाख बढी भक्तजन आएकोमा यसवर्ष भने पाँच लाखको हाराहारीमा भक्तजन आउने अनुमान गरेको अध्यक्ष बनेपाली बताउँछन् ।
यसैबीच धरान उपमहानगरपालिका मेयर हर्कराज राई साम्पाङ, उपमेयर अइन्द्रविक्रम बेघा, सेवक अभियानको टोली समेत मन्दिर परिसरमा पुगेको थियो । सेवक अभियान धरानले सरसफाई कार्यक्रमअन्तर्गत सोमबार पिण्डेश्वर मन्दिर क्षेत्रमा सरसफाई गरेको छ । हरेक सोमबार धार्मिकस्थल सरसफाई गर्दै आइरहेको सेवक अभियन्ताहरुले पिण्डेश्वरमा सफाई गरेको हो । बोलबम भक्तजनहरु आइरहँदा फोहोर धेरै हुने भएकोले पिण्डेश्वरमा सरसफाई गरिएको सेवक अभियानका अध्यक्ष राजिव हलवाईले जानकारी दिए ।
बेलपत्र, धतुरोका दाना, मह, घिउ, दही आदिसमेत शिवालयमा चढाई भगवान शिवबाट आशीर्वाद प्राप्त गर्न नेपालका विभिन्न जिल्ला र छिमेकी देश भारत समेतका भक्तजनको पिण्डेश्वर बाबाधाममा बिहानैदेखि घुइँचो लाग्ने गरेको पाइन्छ । साउन शिवजीको प्रिय महिना भएकाले यो महिनाभरि शिवालयहरुमा शिवभक्तहरुको घुइँचो लाग्ने गर्दछ ।
भगवान शिवको आँशु उत्पति भएको पौराणिक महत्वको रुद्राक्षको उत्पति भएको पिण्डेश्वरलाई रुद्राक्षरनयका रुपमा शास्त्रहरुमा व्यवख्या गरिएको छ । पिण्डेश्वर बाबाधाममा अधिकांश महिलाहरुको उपस्थित हुने गरेको तथा विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै र अविवाहित युवतीहरुले राम्रो पति पाऊँ भन्दै शिवलिङगमा जल चढाउने गर्दछन् । कोशी नदीबाट जल ल्याएर पिण्डेश्वर बाबाधाममा रहेको शिवलिङगमा चढाएमा आफ्नो मनोकांक्षा पूरा हुने समेत धार्मिक विश्वास रहेको पिण्डेश्वर मन्दिरका मूल पुजारी विनोद पोख्रेलले जानकारी दिए ।












































