धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीले दक्षिण एशियाली कराते च्याम्पियनसीपमा प्रथम भई गोल्ड मेडल जित्न सफल छात्रा वर्षा राईलाई सोमबार सम्मान गरेको छ ।
स्कुलको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । दक्षिण एशियाली कराते डो फेडरेसनले गत जुलाई १८ र १९ गते भुटानको राजधानी थिम्पुमा आयोजना गरेको प्रतियोगितामा वर्षाले गोल्ड मेडल हासिल गरेकी थिइन् ।
स्कुलका प्रिन्सिपल मिलनकुमार राई, प्लस टु कोअर्डिनेटर टपकुमार राई, निर्देशक प्रदीपकुमार राईले वर्षालाई खदा, अविरसहित सम्मानपत्रले सम्मान गरेका छन् । स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सुनाखरीले अहिलेसम्म खाली हात नफर्किएको बताउँदै आगामी दिनमा झन सशक्त ढङ्गले अघि बढ्न प्रिन्सिपल राईले विद्यार्थीहरूलाई हौसला प्रदान गरेका थिए । वर्षा सुनाखरीकै कक्षा–११ मा अध्ययनरत छिन् । भुटानमा गएर कराते च्याम्पियनसीपमा भाग लिई आफ्नो देश र स्कुलको नाम राख्न पाउँदा खुशी लागेको वर्षाले बताइन् ।
वर्षाले गत ज्येष्ठ २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा भएको ५६ औं राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरी भुटानमा हुने प्रतियोगिताका लागि छनोट भएकी थिइन् ।
यसैबीच गत जुलाई २६ देखि २९ सम्म ललितपुरमा भएको नेसनल जुनियर एन्ड स्कुल ब्वाइज च्याम्पियनसीप–२०२४ मा तेश्रो हुन सफल छात्र पेम्नुरु शेर्पा, कराते प्रशिक्षक किरण लामा र अभिभावक मौसम दुमी राईलाई समेत अविर र खदाले सम्मान गरिएको छ ।




