Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मेयर साम्पाङले पठाए गृह मन्त्रालयलाई पत्र

हाम्रो कोशी आवाज
साउन ३० २०८१, बुधबार
मेयर साम्पाङले पठाए गृह मन्त्रालयलाई पत्र

धरान: धरान उपमहानगरपालिकाले कारबाहीको माग गर्दै पालिकाको अवस्थाबारे जानकारीसहित गृह मन्त्रालयमा पत्र पठाएको छन् । मंगलबार धरानका मेयर हर्कराज राई (साम्पाङ)ले एक पत्र गृह मन्त्रालयमा पठाएका हुन् ।
धरान-१३ का वडाध्यक्ष नेत्र काफ्लेले प्रदेशको बजेट ल्याएर नगरपालिकालाई मात्र नभई आफ्नै वडाका प्राविधिक, अमिन र सचिवलाई समेत जानकारी नदिई आफ्‍ना नजिकका मान्छेहरूमार्फत उपभोक्ता समिति गठन गरेको उल्लेख छ ।
‘व्यक्तिको जग्गा पूर्वपट्टीको (सुन्नमा बुझ्नमा आएको एसएसपी भीम दाहालको जग्गा) जोगाउन खहरे खोलाको बीचमा वारिपट्टीको (पश्चिमपट्टी) नगरको बजेटले बनाएको जाली भत्काएर वारिपट्टीको ढुंगा लगेर पारिपट्टीको व्यक्तिको जग्गा जोगाउन खोलाको बिचौंबिच जाली लगाएकाले वारिपट्टी बसोबास गर्नेहरूको असहमती रहि आएकोले दैनिक जसो झगडाको स्थिति रहिआएको थियो’ पत्रमा लेखिएको छ ।
खहरेको बीचमा जाली लगाउन सघाउनेहरूमध्येबाट पर्ने लुइस राईले हाल जिल्ला प्रहरी कार्यालय, सुनसरीमा थुनामा रहेकी भारती राईलगायत पीडितहरूलाई हातपात गरी लुइस इलाका प्रहरी कार्यालयमा जेठ २५ गते पक्राउ परी केही दिन थुनामा बसेको र स्थिति अशान्त, शान्ति सुरक्षा खलबलिनतर्फ नाजुक र विकारल देखिन आएकाले सो सम्बन्धी प्रहरी प्रशासनलाई जानकारी गराएको पनि पत्रमा लेखिएको छ ।
‘सरकारी बजेट ल्याएर आफ्नै वडाका प्राविधिक, अमिन र वडा सचिवलाई समेत जानकारी नदिई लुकाएर कुनै व्यक्तिको जग्गा जोगाउन त्यो पनि वारिपट्टी (पश्चिम पट्टी) को बस्तीलाई डुबान र जोखिममा पारी खहरेको बीचमा जाली लगाउने काम अख्तियार दुरुपयोग हो भनि मिति २०८१/०२/२७ गते च.नं. ७९९१ को पत्र धरान उपमहानगरपालिकाको लेटर प्याडमै आयोगको इटहरी शाखामा पठाउँदा कुनै किसिमको कारबाही भएन’ पत्रमा भनिएको छ ।
असार महिनामा अत्यधिक वर्षा भएर खोला खोल्सी र खहरेहरू उर्लिएर धरानमा पनि धेरै ठुलो क्षति भएको उल्लेख छ । खहरेका वारिपट्टी (पश्चिमपट्टी) रहेका वस्तीवासीको घरभित्र पानी छिरेको र चुलाचौका, लत्ताकपडा बोकी अरुको घरमा बास माग्न जाने स्थिति आएको जानकारी पत्रमा लेखिएको छ ।
‘मिति २०८१/०३/१० गतेका दिन सम्बन्धित पीडितहरूले वडाध्यक्षलाई विपद् आइलाग्यो भनी गुहार माग्दा “तेरो मेयरलाई सुनाउन जा ।” भनी उत्तर दिएकाले पीडितहरू रुष्ट र आक्रोशित भई वडाध्यक्षलाई नगरपालिकामै कार्यपालिका बैठकबाट निस्कँदै गर्दा घेरेर झण्डै हातपातसमेत हुन खोज्दा नगर प्रहरीले बचाउनु परेको स्थितिको समेत जानकारी गराउँदछु’ पत्रमा लेखिएको छ ‘यसरी दैनिक जसो झगडा र कुटपिटको स्थितिले शान्ति सुरक्षामा चुनौती थपिरहेको बेला बस्तीमा पसेको र अरु पस्न सक्ने खहरेबाट हुनजाने जनधनको क्षति न्यूनीकरण गर्न खहरेको बीचमा लगाएको केही थान जाली विपद् व्यवस्थापन अन्तर्गत तत्काल सच्चाई वारी र पारी दुवैतर्फ जाली लगाउने योजना रहेको जानकारी गराउँदछु ।’
सत्ता र शक्तिको दुरुपयोग गर्दै पीडितहरूलाई प्रहरीले हिरासतमा राखिरहेको र सो उद्दार कार्यमा खटिएका नगर प्रहरी सहायक निरीक्षक सुरेश मग्रातीलाई समेत थुनामा राखिएकाले पीडितहरूलाई रिहा गरी वास्तविक दोषी उपर कारबाहीको माग पनि गरिएको छ ।

प्रकाशित मिति: साउन ३० २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend